काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक सातामात्र बाँकी रहँदा लक्ष्यको ७७ प्रतिशत मात्र राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको असार २५ गतेसम्ममा लक्ष्यको ७७.३४ प्रतिशत मात्र राजस्व संकलन भएको हो ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्ममा १० खर्ब ९७ अर्ब ७२ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयका अनुसार हालसम्ममा कर राजस्व ९ खर्ब ९३ अर्ब ८८ करोड १० लाख रुपैयाँ संकलन भएकोमा गैर कर राजस्व १ खर्ब ३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ संकलन भएको छ ।
चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर लक्ष्य अनुसार राजस्व संकलन हुने अवस्था नदेखेपछि अर्थमन्त्री बिष्णु पौडेलले राजस्वको लक्ष्य संशोधन गरेर १२ खर्ब ६७ अर्ब कायम गरेका थिए ।
राजस्वको संशोधित लक्ष्य पुरा गर्नपनि बाँकी एक हप्तामा करिब १ खर्ब ७० अर्ब रुपैयाँ संकलन हुनुपर्छ अहिले सम्मको अनुपात हेर्दा जुन असम्भव छ ।
गत आर्थिक वर्ष २०८०÷८१ को अन्तिम सातामा ४० अर्ब ३७ करोड ८८ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९÷८० को अन्तिम सातामा ५५ अर्ब ५२ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
आर्थिक वर्ष २०७८÷७९ को अन्तिम एक सातामा ५६ अर्ब ९८ करोड ३० लाख रुपैयाँ राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७७÷७८ को अन्तिम साता ५७ अर्ब ४१ करोड ४१ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको देखिन्छ । जुन अनुपाल हेर्दा विगतका वर्षहरुमा भन्दा दोब्बर राजस्व संकलन भएमा पनि राजस्वको संशोधित लक्ष्य पनि पुर िहुने अवस्था छैन् ।










प्रतिक्रिया