पहिरोले बिपी राजमार्गका विभिन्न ३ स्थानमा यातायात अवरुद्ध


काभ्रेपलाञ्चोक । बिपी राजमार्गका पहिरो र लेदोका कारण ३ स्थानमा सडक अवरुद्ध भएको छ । सोमबारराति अवरुद्ध सडक मंगलबार बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको हो । यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित खहरे खोलाको लेदो आई गए राति सडक अवरुद्ध भएको थियो ।

सोही समयमा सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आई सडक अवरुद्ध भएको कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए। उनका अनुसार स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ । यही असार २५ गते पनि मङ्गलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो ।

उक्त राजमार्गअन्तर्गत रोशीका क्षेत्रका विभिन्न स्थानमा आइतबार साँझदेखि नै खोला वर्षासँगै लेदो झरेपछि सडक अवरुद्ध भएको थियो । रातभर जेसिभी प्रयोग गरी लेदो हटाएर सोमबार बिहान दुइतर्फी नै यातायात सञ्चालनमा ल्याइएको थियो । उक्त राजमार्गकै पिन्थलीमा यसअघि पनि पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो । यही असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार  ०७ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।