सञ्चारमाध्यमहरूको भिडमा समग्र आर्थिक क्षेत्रलाई केन्द्रमा राखेर तथ्यपरक र सन्तुलित समाचार सम्प्रेषण गर्ने लक्ष्यका साथ उपस्थिति जनाएको नोटबजार डटकमले २०८२ साउन १ गतेदेखि आफ्नो यात्राको छैटौँ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको छ । अर्थात् आजदेखि हामीले सातौँ पाइला चालेका छौँ । यस सुखद् घडीमा नोटबजार परिवार आमपाठक, समाचार स्रोत, विज्ञापनदाता, शुभचिन्तकलगायत सबैप्रति विशेष आभार व्यक्त गर्दछ । संस्थामा कार्यरत कर्मचारी, प्राविधिक, सहयोगीहरूको भूमिकाप्रति पनि हार्दिक आभार व्यक्त गर्दछौँ ।
आर्थिक विषयलाई मुख्य विधा बनाएर गरिने पत्रकारिताको इतिहास धेरै लामो छैन । त्यसमा पनि अनलाइन माध्यमबाट हुने यस किसिमको पत्रकारिताको इतिहास झनै छोटो छ । प्रविधिको विकाससँगै हरेक व्यक्तिको हात हातमा समाचारको पहुँच पुगिरहेको वर्तमान सन्दर्भमा पाठकको सही सूचनाको उपलब्धता पनि चुनौतीपूर्ण बन्दै गएको सर्वविदितै छ ।
यही चुनौतीलाई नजिकबाट अनुभूत गरेर ‘कमिटेड फर एक्युरेसी’ अर्थात् ‘तथ्यमा प्रतिबद्ध’ हुने प्रण गर्दै नोटबजारको परिकल्पना गरिएको थियो । आमपाठकलाई तथ्यपरक सूचना उपलब्ध गराउने उद्देश्यका साथ २०७६ साउन १ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको नोटबजार यो ६ वर्षको अवधिमा कतै पनि विचलित भएको छैन भन्ने हाम्रो दाबी छ ।
यस अवधिमा नोटबजारमा प्रकाशन भएका समाचार सामग्रीमा हामीले गरेका प्रतिबद्धता कति पूरा भए, कति बाँकी छन्, यसको मूल्यांकन आमपाठकले नै गर्दै आउनुभएको छ । विगतमा जस्तै आगामी दिनमा पनि आमपाठकबाट रचनात्मक र सिर्जनात्मक सुझावको अपेक्षा गर्दछौँ ।
यो ६ बर्षे अवधिमा तथ्य र तथ्यांकमा आधारित रहेर आमपाठकलाई अर्थतन्त्रका विविध पक्षहरूमा सुसूचित गर्ने मात्र नभई सम्बन्धित निकायलाई खबरदारी गर्ने काममा थप सशक्त बन्न नोटबजार परिवारलाई थप प्रेरणा मिलेको छ ।
आमपाठक, विज्ञापनदाता, समाचार स्रोत, शुभचिन्तक तथा सम्पूर्ण सरोकारवालाहरूबाट पाएको अगाध विश्वास, स्नेह र सहयोगले नोटबजारलाई आगामी दिनमा थप जिम्मेवार बनेर अघि बढ्ने साहस जगाएको छ ।
आमपाठकले दिएको जिम्मेवारी शिरोपर गर्दै आगामी दिनमा पनि आर्थिक विषयवस्तुमा केन्द्रित रहेर कलम चलाउने प्रतिबद्धता व्यक्त गर्दछौँ । त्यसका लागि यहाँहरूको सक्रिय सहयोग, सल्लाह सुझाव र सूचनाको उपलब्धता सदैव अपेक्षित छ ।










प्रतिक्रिया