गत आर्थिक वर्ष ११ खर्ब ७८ अर्ब रुपैयाँ राजश्व संकलन


काठमाडौँ । गत आर्थिक वर्षमा ११ खर्ब ७८ अर्ब रुपैयाँ राजश्व संकलन भएको छ । महालेखापरीक्षक कार्यालयको तथ्यांकअनुसार सरकारले गत आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ११ खर्ब ७८ अर्ब ८२ करोड २ लाख रुपैयाँ अर्थात् लक्ष्यको ८३.०६ प्रतिशत संकलन भएको छ ।

कार्यालयको तथ्यांकअनुसार १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख रुपैयाँ कर राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख रुपैयाँ संकलन गरिएको छ । यो कूल लक्ष्यको ८१.७५ प्रतिशत हो ।

त्यस्तै, गैरकर राजस्वतर्फ १ खर्ब ३५ अर्ब ९ करोड ३४ लाख बराबर संकलन गर्ने लक्ष्य राखेकोमा १ खर्ब २८ अर्ब ९४ करोड ४८ लाख संकलन भएको छ । यो कूल लक्ष्यको ९५.४५ प्रतिशत बराबर हो ।

महालेखापरीक्षक कार्यालयको तथ्यांकअनुसार सरकारले गत आवमा ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा २३ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ अर्थात् लक्ष्यको ४४.९७ प्रतिशत अनुदान संकलन भएको छ ।

चालु खर्च बढी

कार्यालयका अनुसार सरकारले कूल लक्ष्यको ८१.८७ प्रतिशत खर्च गरेको छ । गत आवमा १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो । त्यसमध्ये १५ खर्ब २३ अर्ब १० करोड ६८ लाख रुपैयाँ खर्च गरेको छ । जसमा चालु खर्च बढी रहेको छ ।

यस वर्ष ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ बजेट चालु खर्चमा राखेको थियो । त्यसमध्ये ९ खर्ब ८० अर्ब ३८ करोड २ लाख खर्च भएको छ । यो कूल लक्ष्यको ८५.९५ प्रतिशत हो ।

पुँजीगत खर्च सवाँ २ खर्ब नाघ्यो

विकास निर्माणका लागि विनियोजन गरिएको पूँजीगत खर्च सवाँ २ खर्ब माथि पुगेको छ । सरकारले पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये २ खर्ब २२ अर्ब ६८ करोड २३ लाख रुपैयाँ खर्च भएको छ । यो कूल विनियोजनको ६३.२ प्रतिशत हो ।

यस्तै, वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएकोमध्ये हालसम्म ८७.१४ प्रतिशत बजेट खर्च भएको छ । सरकारले ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ बजेट वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको थियो । त्यसमध्ये ३ खर्ब २० अर्ब ४ करोड २४ लाख रुपैयाँ रकम खर्च भएको छ ।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार  १२ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।