आजदेखि धरहरा १२ घण्टा खुल्ने


काठमाडौँ । आजदेखि धरहरा १२ घण्टा खुल्ने भएको छ । हरेक दिन बिहान ८ देखि बेलुकी ८ बजेसम्म धरहरा खुला हुने भएको हो ।

नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै समयावधि थप गर्दै धरहरा १२ घण्टा खुला गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

आजदेखि धरहरा १२ घण्टा सञ्चालन सार्वजनिक हुने जनाउँदै मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बिदाको दिन पनि खुला रहने उल्लेख गरे । यसअघि दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म खुला गरिँदै आएकोमा आजदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुला रहने उनले जानकारी दिए ।

“अब २ सिफ्टमा धरहरा सञ्चालन गर्दैछौंँ । धरहरा घुम्न चाहनेहरूका लागि सार्वजनिक बिदाको दिन पनि खुला रहनेछ”, प्रवक्ता नारायण भने । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुनःनिर्माणपछि गत असोज ३ गतेदेखि परीक्षणका रूपमा खुला गरिएको थियो । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा गरिएकामा सर्वसाधारण नागरिकले धरहरा खुल्ने समय कम भएको गुनासो गरेसँगै समयावधि थपिएको उनको भनाइ छ ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको सुझावलाई ध्यान दिँदै धरहरा सञ्चालनको अवधि बढाएर २ सिफ्टमा सञ्चालनको तयारी गरिएको मन्त्रालयले जनाएको छ । भूकम्पले क्षतिग्रस्त धरहरा पुनःनिर्माणपछि सशुल्क सञ्चालन गरिएको ७ महिनाको अवधिमा टिकट बिक्रीबाट ४ करोड ३३ लाख ९३ हजार ६५० रुपैयाँ राजस्व सङ्कलन भएको सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले जनाएको छ ।

इकाईअन्तर्गत रहेर सञ्चालन भइरहेको धरहरामा हालसम्म २ लाख ३७ हजार ६५ जनाले अवलोकन गरेका छन् । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश–२०८१ बमोजिम सशुल्क धरहरा सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार  १७ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।