म्याग्दीका पशुपालक किसानलाई ३८ लाख रुपैयाँ अनुदान


म्याग्दी । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०८१/८२ मा पशुपन्छी र माछापालक कृषकलाई ३८ लाख रुपैयाँ अनुदान वितरण गरेको छ । ४३ वटा फर्म, समूह र सहकारी संस्थाले केन्द्रले सञ्चालन गरेको ८ वटा कार्यक्रममार्फत ३८ लाख ७० हजार ७५ रुपैयाँ अनुदान पाएका हुन् ।

केन्द्रका प्रमुख पशु विकास अधिकृत गोपाल गिरीले घाँसखेती प्रोत्साहन, दूध उत्पादन कृषकलाई उत्पादनमा आधारित, कृषि ऋणको ब्याज अनुदान, पाडापाडी हुर्काउने, बृहत्तर पशु विकास, मत्स्य पोखरी निर्माण तथा मर्मत, उपकरण र घुम्ती गोठ संरक्षणका लागि अनुदान उपलब्ध गराएको जानकारी दिए ।

सार्वजनिक सूचनामार्फत लाभग्राहीको आवेदन सङ्कलन, स्थलगत मूल्याङ्कन, मापदण्डको आधारमा छनोट भएका फर्म, समूह र सहकारीले कार्य सम्पन्न गरेपछि अनुदान वितरण गरिएको उनले बताए ।

घाँसखेती प्रोत्साहन कार्यक्रमबाट १२ वटा फर्मलाई ४ लाख २२ हजार ७९० रुपैयाँ, नमस्ते र शुभकामना कृषि सहकारी संस्थामा आबद्ध गाईभैँसीपालक किसानलाई दूध उत्पादनमा आधारित ९ लाख ९९ हजार ९८० रुपैयाँ वितरण गरिएको छ ।

६ वटा फर्मलाई कृषि ब्याजमा ९९ हजार ९६० रुपैयाँ, कृतिम गर्भाधानबाट जन्मिएका पाडापाडी हुर्काएका १४ फर्र्म तथा किसानलाई २ लाख २० हजार रुपैयाँ, बृहत्त र पशु विकास कार्यक्रममार्फत बेनपा–३ को बेलढुङ्गा र मङ्गला–३ को नमूना कृषक समूहले १ लाख ५० हजार रुपैयाँ अनुदान पाएका छन् ।

३/३ वटा फर्र्मलाई मत्स्य पोखरी निर्माण तथा मर्मतका लागि ८५ हजार २१५ रुपैयाँ र १ लाख ५८ हजार १३० रुपैयाँ तथा अन्नपूर्ण गाउँपालिका–५ को चौरी स्रोत संरक्षण तथा प्रवद्र्धन समितिलाई घुम्ती गोठ निर्माणका लागि ३ लाख ८४ हजार रुपैयाँ उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।

यसैगरी पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका वटै स्थानीय तहका कृषकले पालेका ८९ हजार ६५१ गाई, भैँसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोगविरुद्ध ५ प्रकारका खोप लगाइएको केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले जानकारी दिए । १० हजार ९८१ घरधुरी कृषक लाभान्वित भएका उनले बताए ।

१० हजार १०८ गाई/गोरु, १६ हजार २८६ भैँसी/रागो र २८७ बङ्गुरलाई खोरेतविरुद्धको एफएमडी खोप लगाइएको छ । ५ हजार ३३७ पशुलाई लम्पी स्किन र ३ हजार ३९७ कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाइएको छ भने ४१ हजार ७१३ बाख्रा र ११ हजार १२९ भेडालाई पिपिआरविरुद्धको खोप लगाइएको केन्द्रका सूचना अधिकारी रेग्मीले बताए ।

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार  १४ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।