महेन्द्रनगर राजस्व सङ्कलनमा वृद्धि, २ अर्ब ४१ करोड ७९ लाख रुपैयाँ राजस्व सङ्कलन


कञ्चनपुर । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ ।

कार्यालयका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीका अनुसार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा २अर्ब ४१ करोड ७९ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा कार्यालयले २ अर्ब ३९ करोड ४ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । यसपटक आयकरमा १३ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ ।

प्रमुख कर अधिकृत पराजुलीका अनुसार आव २०८१/८२ मा ८५ करोड ८ लाख ६५ हजार रुपैयाँ आयकर सङ्कलन भएको छ । अघिल्लो आवमा ७५ करोड १ लाख ७२ हजार रुपैयाँ आयकर सङ्कलन भएको थियो ।

त्यसैगरी, ब्याजकरमा पनि २२ प्रतिशतले वृद्धि भएको छ । कार्यालयले आव २०८१/८२ मा २ करोड ८९ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा २ करोड ५२ लाख ५० हजार रुपैयाँ सङ्कलन गरेको थियो । घरबहाल कर १२ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । कार्यालयले आव २०८१/८२ मा १ करोड ३७ लाख ८० हजार रुपैयाँ घरबहाल कर सङ्कलन गरेको छ ।

अघिल्लो आवमा १ करोड २२ लाख ७७ हजार रुपैयाँ घरबहाल कर सङ्कलन गरेकामा कार्यालयले भ्याटमा ६० करोड ८८ लाख ६१ हजार रुपैयाँ र अन्तःशुल्कमा ९० करोड ९१ लख ७१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । “यो आवमा आयकर बढेको छ, भ्याटमा कम छ”, प्रमुख कर अधिकृत पराजुलीले भने, “अन्तशुल्क कर बराबरी छ समग्रमा गत आवको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।”

कार्यालयको १३ करोड रुपैयाँ राजस्व बक्यौता रहेको छ । “भ्याटमा ९ करोड रुपैयाँ र आयकरमा ४ करोड रुपैयाँ बक्यौता बाँकी छ”, उनले भने, “बक्यौता रकमका लागि करदातालाई पसलमै गएर, फोनबाट जानकारी गराउने गरेका छौँ ।”

बक्यौता रकम नतिर्ने करदातालाई पटकपटक बक्यौता तिर्न प्रेरित गर्ने र नतिर्ने करदाताको पत्रपत्रिकामा सूचना निकाल्ने गरेको प्रमुख कर अधिकृत पराजुलीले बताए । “पटकपटक ताकेता गर्दा पनि अटेरी गर्ने करदातालाई पत्रपत्रिकामा सूचना निकाल्ने र समयमै बक्यौता नतिर्नेको बैंक खाता रोक्कासमेत हुनसक्छ”, उनले भने ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार  ०६ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।