चितवनमा डेङ्गु सङ्क्रमण उच्च : मृत्यु दर भने कम


नारायणगढ । जिल्लामा गत आर्थिक वर्षमा ३ हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार सो अवधिमा १ हजार ५४८ पुरुष र १ हजार ४७२ महिला गरी ३ हजार २० जना चितवन जिल्लाभित्रै डेङ्गु सङ्क्रमित भएका हुन् । त्यसैगरी, अन्य जिल्लाबाट आएका ४ सय १२ पुरुष र ४ सय ५७ महिला गरी ८ सय ६९ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

गत वर्ष सबैभन्दा धेरै सङ्क्रमित भरतपुर महानगरपालिकामा देखिएका छन्, जहाँ १ हजार एक सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि रत्ननगर नगरपालिकामा ९ सय ७, इच्छाकामना गाउँपालिकामा ४ सय ६७, खैरहनी नगरपालिकामा २ सय २३, राप्ती नगरपालिकामा १ सय २४, कालिका नगरपालिकामा ९१ र माडी नगरपालिकामा ३७ जना सङ्क्रमित भएका छन् । डेङ्गुका कारण गत आवमा १ जनाको मृत्यु भएको पुष्टि गरिएको थियो ।

जिल्लामा गत आव १७ हजार ३५३ जनाको रगत परीक्षण गरिएको थियो । जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले सङ्क्रमणदर उच्च भए पनि मृत्युदर कम रहेको बताए । उनका अनुसार अघिल्लो आवमा १ हजार ८ सय ३१ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो, जुन २३ हजार ८ सय ४० जनाको परीक्षणबाट पुष्टि भएको थियो ।

आव २०७४/७५ मा १हजार २९१ परीक्षण ५९ सङ्क्रमित, २०७५/७६मा १ हजार ९५१ परीक्षण ३१ सङ्क्रमित, २०७६/७७ मा १९ हजार २३० परीक्षण ४हजार ८०३ सङ्क्रमित, २०७७/७८ मा १ हजार ७१७ परीक्षण २४३ सङ्क्रमित, २०७८/७९ मा १४ हजार ९७८ परीक्षण, ३हजार ३३६ सङ्क्रमित, २०७९/८० मा ५ हजा ४५४ परीक्षण, ३०३ सङ्क्रमित भएको कार्यलयको तत्याङ्मा उल्लेख छ ।

जिल्लाको मुख्य बजार क्षेत्रमा डेङ्गु जोखिम बढी हुने गरेको छ । सङ्क्रमण बढ्न नदिन उच्च सतर्कता अपनाइएको छ । कार्यालयले सबै सातै पालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिसँग अन्तक्र्रिया र छलफल गर्दै डेङ्गु नियन्त्रणका उपाय अघि बढाएको भेक्टर कन्ट्रोल निरीक्षक केसीले जानकारी दिए । डेङ्गु फैलाउने लामुखुट्टेको सङ्ख्या बढ्ने मौसमी कारण यस सिजनमा सतर्क रहन सबैलाई सचेत गराइएको उनले बताए ।

नेपालमा डेङ्गु ज्वरो पहिलोपटक सन् २००४ मा चितवनमा देखिएको थियो । त्यो वर्ष यहाँ आएका एक जापानी पर्यटकमा रोग पुष्टि भएको थियो । त्यसपछि सन् २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा पनि डेङ्गुका बिरामी भेटिएका थिए । सन् २००९ मा चितवनमा ९ जनामा सङ्क्रमण देखिएको थियो । सन् २०१० मा ३ हजार २९८ जनाको परीक्षण गर्दा ७३९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको कार्यलयको तथ्याङ्कमा उल्लेख छ ।

भेक्टर कन्ट्रोल केसीका अनुसार डेङ्गु रोगको ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तश्राव हुने, उच्च ज्वरो आउनेजस्ता लक्ष्यण देखापर्छ । यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुनेजस्ता लक्षण देखापर्ने उनले बताए । डेङ्गु ज्वरो विषाणुका कारण हुने भएकाले यसको खासै उपचार नहुने उनले जानकारी दिए ।

डेङ्गु ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । आफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको भेक्टर कन्ट्रोल केसीले बताए ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार  ०८ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।