काठमाडौँ । देशभर हालसम्म करिब ७२ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि विकास मन्त्रालयका अनुसार साउन ४ गते (आइतबार) सम्म ९ लाख ९८ हजार २२८ हेक्टर जमिनमा रोपाइँ भएको हो । गत वर्षको तुलनामा झण्डै १२.४६ प्रतिशतले रोपाइँमा कमी आएको हो ।
सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १ लाख ७६ हजार १५१ हेक्टर क्षेत्रफलमा धान रोपाई हुनेमा १ लाख ७० हजार ८४३ हेक्टरमा रोपाइँ भएको छ । उक्त प्रदेशमा ९६.९९ प्रतिशत रोपाइँ भएको जनाइएको छ ।
त्यस्तै यो अवधिमा कोशी प्रदेशमा १ लाख ७० हजार ७९० हेक्टरमा रोपाइँ सकिएको छ । जुन कुल रोपाइ हुने क्षेत्रफलको ६१.७९ प्रतिशत रहेको कृषि मन्त्रालयले जनाएको छ । मधेश प्रदेशमा १ लाख ७४ हजार ५०८ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ भने प्रतिशतका हिसाबले ४६.८३ प्रतिशत रोपाइँ भएको हो ।
बागमती प्रदेशमा १ लाख २० हजार ५४५ हेक्टर क्षेत्रफलमा धान रोपाई गर्नेमा १ लाख ५ हजार १०३ हेक्टर क्षेत्रफल अर्थात् ८७.१९ प्रतिशत धान रोपाई भएको हो भने गण्डकीमा ७४ हजार ६६४ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ । उक्त प्रदेशमा ७९.२८ प्रतिशत रोपाई भएको जनाइएको छ ।
त्यसैगरी, लुम्बिनी प्रदेशमा ८७.९३ प्रतिशत अर्थात् २ लाख ६६ हजार ३६९ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको हो । कर्णाली प्रदेशमा ३५ हजार ९४८ हेक्टर क्षेत्रफलमा धान रोपाई भएसँगै ८७.९३ प्रतिशत धान रोपाई भएको हो ।












प्रतिक्रिया