वीरगञ्ज भन्सार नाका: पेट्रोलियम पदार्थ आयातबाट ८० अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन


वीरगञ्ज । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा १ खर्ब ९१ अर्ब ८८ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । समग्रमा आव २०८०/८१ को तुलनामा गत आवभरिमा यो नाका हुँदै मूल्यको आधारमा पेट्रोलियम पदार्थको आयात १ अर्ब ९४ करोड रुपैयाँले घटेको छ ।

सो अवधिमा मूल्यको आधारमा पेट्रोलियम पदार्थको आयात घटेपनि सोबाट प्राप्त हुने राजस्व भने १०.२३ प्रतिशत अर्थात् ७ अर्ब ५१ करोडले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले कार्यालयले गत आवभरिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट प्राप्त गरेको बताए। “यहाँको भन्सारको राजस्व पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ”, उनले भने ।

गत आवभरिमा ५ थरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले ८० अर्ब ९२ करोड रुपैयाँ रकम राजस्व सङ्कलन गरेको छ । जबकी अघिल्लो आव २०८०/८१ मा पाँचै थरिका पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब ४० करोड रुपैयाँ राजस्व सङ्कलन थियो ।

कार्यालयका अनुसार गत आवभरिमा ९९ अर्ब ९५ करोड रुपैयाँ मूल्य पर्ने ११ लाख ४९ हजार ५२१ किलोलिटर डिजेल आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा १ खर्ब ५ अर्ब ८७ करोड मूल्यको १० लाख ५५ हजार १६० किलोलिटर डिजेलको आयात भएको थियो ।

कार्यालयले गत आवभरिमा डिजेल आयातबापत कार्यालयले ४५ अर्ब ७२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ भने अघिल्लो आवको सोही अवधिमा भने ४२ अर्ब ३६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

त्यस्तै गत आवभरिमा ३८ अर्ब ७२ करोड रुपैयाँ मूल्य पर्ने ४ लाख ५३ हजार ८६४ किलोलिटर पेट्रोल आयात भएको छ । जबकी अघिल्लो आवको सोही अवधिमा भने ३९ अर्ब २ करोड रुपैयाँ मूल्य पर्ने ३ लाख ९४ हजार ७२३ किलोलिटर पेट्रोल आयात भएको थियो । कार्यालयले गत आवभरिमा पेट्रोल आयातबाट २५ अर्ब ६६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जबकी अघिल्लो आवमा भने पेट्रोलबाट २२ अर्ब ६२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

यो नाका हुँदै गत आवमा ३६ अर्ब ३७ करोड रुपैयाँ मूल्य पर्ने ३१ करोड ८९ लाख २४ हजार ६८४ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । जबकी अघिल्लो आवको सोही अवधिमा भने ३० अर्ब रुपैयाँ मूल्य पर्ने २७ करोड ९० लाख ४८ हजार ८७८ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । कार्यालयले गत आवमा एलपिजीबाट ६ अर्ब ८१ करोड रुपैयाँ र अघिल्लो आवभरिमा भने ५ अर्ब ६० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

यो नाका हुँदै गत आवमा १६ अर्ब १४ करोड रुपैयाँ मूल्य पर्ने १ लाख ८० हजार ६६३ किलोलिटर एटिएफ आयात भएको छ । जबकी अघिल्लो आवमा भने १८ अर्ब २१ करोड रुपैयाँ मूल्य पर्ने १ लाख ७३ हजार ४८४ किलोलिटर एटिएफ आयात भएको छ । कार्यालयले गत आवमा एटिएफ आयातबाट २ अर्ब ५३ करोड रुपैयाँ र अघिल्लो आवमा भने २ अर्ब ६४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

यो नाका हुँदै गत आवमा ६९ करोड रुपैयाँ मूल्य पर्ने ७ हजार ९३० किलोलिटर मट्टितेल आयात भएको छ । जबकी अघिल्लो आवको सोही अवधिमा भने ७१ करोड रुपैयाँ मूल्य पर्ने ६ हजार ८२० किलोलिटर मट्टितेल आयात भएको थियो । गत आवमा मट्टितेल आयातबाट २० करोड रुपैयाँ राजस्व प्राप्त भयो भने अघिल्लो आवमा भने १८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार  १५ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।