सुनसरीमा १७ लाख रुपैयाँ मूल्य बराबरको भन्सार छलीको सामान बरामद


धरान । सुनसरीमा भन्सार छली गरी ल्याइएको १७ लाख रुपैयाँभन्दा बढी मुल्य बराबरको लत्ताकपडा र मोटरसाइकल सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीबाट खटिएको विभिन्न गस्ती टोलीले तीन छुट्टाछुट्टै स्थानमा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको १७ लाख ५० हजार ८०५ रुपैयाँ बराबरको लत्ताकपडा, जुत्ता, किराना सामग्री र ४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

आज बिहान सुनसरीको गढी गाउँपालिका–२, औरावनी, इनरुवा नगरपालिका–४ हनुमानचोकस्थित पूर्वपश्चिम लोकमार्ग, दुहबी नगरपालिका–११ नहरचोकलगायतका ठाउँमा सशस्त्र प्रहरी बलको गस्ती टोलीले जाँचका क्रममा उक्त सामान बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।

उक्त घटनामा संलग्न व्यक्ति प्रहरीलाई देखेपछि सामान र मोटरसाइकल छोडेर फरार भएका छन् । को १९ प ९०९२ ग्ल्यामर, को ३ प १२० होन्डा साइन, प्रदेश १–०२–०३६ प ३६०८ आरटिआर अपाचे र प्रदेश १–०२–०५४ प ६७८३आरटिआर अपाचेमोटरसाइकल बरामद गरिएको छ ।

मोटरसाइकल र बरामद भन्सार छली सामग्री आवश्यक कारबाहीका लागि मुख्य भन्सार कार्यालय, सेतुबन्ध, कोशी ब्यारेजमा बुझाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार  १३ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।