भरतपुर महानगरमा ४३८ विद्यार्थीलाई छात्रवृत्ति


भरतपुर । चितवनको भरतपुर महानगरपालिकाले ४ सय ३८ विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरेको छ । महानगरले विद्यालयमा भएका विद्यार्थी सङ्ख्याको आधारमा कक्षा ११ मा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरेको हो ।

छनोट भएका संस्थागत तथा सामुदायिक विद्यालयमा पढेका विद्यार्थीले छात्रवृत्ति पाउनेछन् । भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यका अनुसार छनोट भएका ४ सय ३८ विद्यार्थीले कक्षा ११ र १२ दुवैमा छात्रवृत्ति पाउनेछन् । गत वर्ष २ सय ६६ जनाले मात्र कक्षा ११ र १२ मा छात्रवृत्ति पाएका थिए ।

यसपटक ४ सय ३८ विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरिएको आचार्यले बताए। छनोटमा परेका विद्यार्थीलाई ३ दिनभित्र महानगरको कार्यालयमा प्रमाणसहित दाबी पेस गर्न अनुरोध गरिएको उनले बताए।

“छनोटमा परेकामध्ये २ सय १९ जना छात्रा छन् । छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले निवेदन दिएका थिए । महानगरले बनाएको मापदण्डभित्र परेका विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरिएको हो”, आचार्यले भने । विज्ञान विषयमा छात्रवृत्ति पाउने विद्यार्थी ३ सय ३० जना छन् भने अन्य विषयमा छात्रवृत्ति पाउने विद्यार्थीको सङ्ख्या १ सय ८ रहेको उनले जानकारी दिए।

सामुदायिकबाट २ सय २० र संस्थागतबाट २ सय १८ जनाले छात्रवृत्ति पाएका छन् । विद्यार्थीलाई महानगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८२ (संशोधनसहित) को दफा ११ को उपदफा ४ बमोजिम छात्रवृत्ति प्रदान गर्न छनोटका लागि इच्छुक विद्यार्थीबाट १५ दिनको समयावधि दिएर अनलाइन आवेदन माग गरिएको थियो ।

कार्यविधिअनुसार जेहेन्दार १ सय ६२, गरिब तथा विपन्न १ सय ६२, आदिवासी जनजाति ५३, दलित २६, सीमान्तकृत ९, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते, बेपत्ता परिवार र मधेश आन्दोलनका घाइते १३ जना विद्यार्थी छनोट गरिएको प्रमुख आचार्यले बताए। छात्रवृत्ति पाएका विद्यार्थीले भर्ना र मासिक शुल्क बुझाउन पर्दैन भने अन्य सबै शुल्क विद्यार्थी आफैँले बुझाउनुपर्ने हुन्छ ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार  १३ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।