अख्तियारका प्रमुख विरुद्ध अख्तियारमै मुद्दा


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियार मै उजुरी दर्ता गरिएको छ । युवराज सफलले राईका विरुद्ध आवश्यक छानबिनको माग गर्दै अख्तियारमा आज उजुरी दिएका हुन् ।

सफलले राई विरुद्ध वाइडबडी जहाज खरिद घोटाला, नेपाल आयल निगमको जग्गा खरिदमा देखिएको अनियमितता र नक्कली भूटानी शरणार्थी काण्डजस्ता चर्चित प्रकरणमा संलग्न भएको आरोप लगाउँदै कानुनी अनुसन्धानको माग गरेका छन् ।

भर्खरै मात्र विशेष अदालतले अख्तियारले दायर गरेको वाइडबडी प्रकरणसम्बन्धी मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै आयोगको अभियोजनप्रति आलोचना गरेको थियो ।

अख्तियारले २०८० चैत २२ गते वाइडबडी प्रकरणमा एक अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

२०७३ साल वैशाख २ गते तत्कालीन सचिव राईको अध्यक्षतामा बसेको नेपाल वायुसेवा निगमको सञ्चालक समितिको बैठकले २ वटा वाइडबडी जहाज खरिदका लागि उपसमिति गठन गर्ने निर्णय गरेको थियो । तर, अख्तियारले अदालतमा दायर गरेको अभियोगपत्रमा भने उक्त निर्णयको जिम्मेवारीबारे केही नउठाइएको भन्दै अदालतले टिप्पणी गरेको छ ।

विशेष अदालतको सो टिप्पणीपछि राईमाथि राजीनामाको दबाब बढ्दै गएको बेला उनीविरुद्ध अख्तियारमै उजुरी दर्ता भएको हो ।

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार  १५ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।