म्याग्दीका ३० ग्रामीण सडकको स्तरोन्नति: ४७ करोड १४ लाख ९१ हजार रुपैयाँ खर्च


म्याग्दी । जिल्ला पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ३० वटा ग्रामीण सडक स्तरोन्नति गरेको छ ।

कार्यालय प्रमुख विष्णु पौडेलका अनुसार ९ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएका ३७ वटा सालबसाली योजनामध्ये २९ वटा ठेक्का प्रक्रिया र उपभोक्ता समितिबाट ३ वटा योजना कार्यान्वयन भएका छन् । ती योजना कार्यान्वनयका लागि निर्माण व्यवसायी र उपभोक्ता समितिहरुसँग ५ करोड ९० लाख ८१ हजार रुपैयाँमा सम्झौता भएको थियो ।

ग्रामीण सडक फराकिलो पार्ने, ग्रेड तथा घुम्ती सुधार गर्ने, पानीको निकासका निम्ति नाली तथा ‘रिटेनिङ’ पर्खाल निर्माण, कालोपत्र, ढलान गर्न तथा मोटरेबल र झोलुङ्गे पुल निर्माणसम्बन्धी सालबसाली ३७ सहित ७१ वटा योजनाका लागि पुँजीगततर्फ ५९ करोड ३१ रुपैयाँ बजेट विनियोजन भएको थियो ।

गत वर्ष ४ दशमलव ९० किलोमिटर कालोपत्र र ढलान, ४ दशमलव १४ किलोमिटर ग्राभेल, ३ दशमलव ३० किलोमिटर नयाँ कच्ची सडक निर्माण, ३१ दशमलव ६० किलोमिटर सडक फराकिलो बनाउने, १० दशमलव ७२ किलोमिटर नाली र ३१ हजार २९ घनमिटर टेवा पर्खाल निर्माण भएको कार्यालय प्रमुख पौडेलले बताए।

यसैगरी २९ वटा कल्भर्ट कजवे, १२ दशमलव ५० किलोमिटर सडक मर्मत, १ वटा झोलुङ्गे, २ वटा मोटरेबल पुल र १ वटा भवन निर्माणसम्बन्धी योजना सम्पन्न भएका छन् । गत आवमा ६४ करोड १ लाख ४३ हजार रुपैयाँ विनियोजन भएकोमा ४७ करोड १४ लाख ९१ हजार रुपैयाँ खर्च भएको छ ।रासस

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार  ०८ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।