मालिकाका ठूला आयोजना अधुरा


म्याग्दी । मालिका गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा ठेक्कामार्फत सञ्चालन गरेका ४ मध्ये ३ वटा आयोजना अधुरा छन् । एउटा आयोजनाको कामनै सुरु नभइ ठेक्का तोडिएको हो ।

६ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित मालिकाको केन्द्र दरवाङबाट मालिका–१ को वडा कार्यालय रहेको निस्कोट जोड्ने सडक स्तरोन्नतिका लागि विसं २०७८ मा ठेक्का सम्झौता भई काम सुरु भएकामा अझै सकिएको छैन् ।

विसं २०७८ माघ ७ गते जिके आइएसएसी जेभीसँग ठेक्का सम्झौता भएको आयोजनाको हालसम्मको भौतिक तथा वित्तीय प्रगति ७० प्रतिशत रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख दीपक सापकोटाले १ करोड २९ लाख रुपैयाँ भुक्तानी भएको आयोजनाको छैठौँ पटक थपिएको म्याद आगामी पुसमा सकिने जानकारी दिए।

“३ करोड ३१ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ लागत अनुमान गरिएको सडक निर्माणका लागि ठेक्का प्रतिस्पर्धामा सबैभन्दा कम कबोलेको कम्पनीसँग सम्झौता भएको थियो”, उनले भने, “अहिले थपिएको समयभित्र पनि काम नसके कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेका छौँ ।”

४ वर्ष पुरानो दरवाङ–निस्कोटमात्र नभएर मालिका गाउँपालिकाले गत आवमा ठेक्कामार्फत सञ्चालन गरेका ३ वटा आयोजना अधुरा छन् भने एउटाको काम सुरु नभइ ठेक्का तोडिएको छ । १ करोड बजेट विनियोजन भएको निस्कोट–ताराखोला जोड्ने सडक निर्माण गर्न भएको ठेक्का सम्झौतामा वनसम्बन्धी मुद्दा परेपछि तोड्नु परेको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए।

“जग्गा खरिदका लागि विनियोजन गरिएको १ करोड बजेट पनि दुःख दिने र अल्झाउने नियतले अख्तियारमा परेको मुद्दाका कारण कार्यान्वयन हुन सकेको छैन”, उनले भने, “मुद्दा मामिला, उजुरीसँगै छनोट भएका ठेकेदारले पनि साथ नदिँदा गतवर्ष पुँजीगत शीर्षकमा विनियोजन भएको १८ करोड रुपैयाँ मध्ये ५२ प्रतिशत मात्र खर्च भएको छ ।”

गत आर्थिक वर्षमा ओमेन अस्कर निर्माण सेवासँग ठेक्का सम्झौता भएको दुखुवेँशी सिँचाइ आयोजना सम्पन्न भएको छ । ४० लाख रुपैयाँ लागत अनुमान र करसहित २८ लाख २९ हजार १ सय ४५ रुपैयाँ मा ठेक्का सम्झौता भएको उक्त आयोजनाको ९०.३६ प्रतिशत खर्च भएको आयोजना कार्यालयले जनाएको छ । मालिका–६ मा रहेको दुखुवेँशी सिँचाइ आयोजनाको मुहानमा बाँध र ४३ मिटर पक्की नहर निर्माण भएको अध्यक्ष गर्बुजाले जानकारी दिए।

उनका अनुसार चट्टान निर्माण सेवाले विसं २०८१ माघ २९ गते ९८ लाख ३८ हजार २ सय ९२ मा रुपैयाँ ठेक्का सम्झौता गरेको मालिका–३ डाँडागाउँ स्वास्थ्य चौकी भवन निर्माणको ३२ लाख ९० हजार २ सय ४० रुपैयाँ मात्र खर्च भएको छ ।

अघिभारा–ताक्से–रुम मोटरबाटो निर्माणका लागि विसं २०८१ पुस २५ गते २ करोड ४८ लाख ८७ हजार ६ सय ६ रुपैयाँमा विके कन्ट्रक्सनसँग सम्झौता भएको आयोजनाको जम्मा १७ लाख ६९ हजार २ सय २० रुपैयाँ मात्र भुक्तानी भएको छ ।

सङ्घीय र प्रदेश सरकारको विशेष र समपुरक अनुदानका आयोजना तोकिएको समयमा नसकिँदा गाउँपालिकामा बजेटको दायित्व बढेको अध्यक्ष गर्बुजाले बताए।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार  १२ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।