पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ


जनकपुरधाम । पछिल्ला ३ दिनदेखि लगातारको वर्षाका कारण ढिलो भए पनि मधेस प्रदेशका किसानहरुले धान रोपाइँ सुरु गरेका छन् । पानीको अभावमा मधेस प्रदेशमा साउनको दोस्रो हप्तासम्म ५० प्रतिशत पनि धान रोपाइँ नभएकामा पानी परेपछि रोपाइँ ६३ प्रतिशत पुगेको मधेस प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ ।

पानी परेपछि देशको प्रदेशका ८ वटै जिल्लामा धमाधम धान रोपाइँ भइरहेको निर्देशनालय वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवले बताए। उनका अनुसार बारा र पर्सामा धान रोपाइँ सकिएको छ भने अन्य जिल्लामा धान रोपाइँ धमाधम भइरहेको छ ।

लामो समयदेखि पानी पर्न नसक्दा प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । त्यसपछि प्रदेश सरकारले कृषिज्ञान केन्द्रमार्फत  खेतीका लागि स्यालो ट्युबबेल वितरण सुरु गरेको छ । निर्देशनालयका अनुसार मधेस प्रदेशमा कूल ३ लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।

विगतमा साउनको दोस्रो हप्तासम्ममा धानको रोपाइँ सकिने भएपछि यसपटक पानी नपर्दा ढिलाइ भएको हो । मधेस प्रदेशका जिल्लाहरुमा नदी, नहर, डिप ट्युबबेल  बोरिङ तथा स्यालो ट्युबबेललगायत विभिन्न माध्यमबाट जमिनमा मात्र सिँचाइ सुविधा पुगेको तथा ६५ प्रतिशत खेतमा आकाशेपानीको भरमा धानखेती हुँदै आएको छ ।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार  १५ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।