मेलम्ची खानेपानी आयोजनाको समग्र प्रगति २६.७९ प्रतिशत मात्रै


काठमाडौँ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाले गत आर्थिक वर्ष २०८१/८२ सम्मको समग्रमा प्रगति २६.७९ प्रतिशत मात्र हासिल भएको देखिएको छ । आयोजना प्रमुख रत्न बहादुर लामिछानेद्धारा प्रमाणित एक प्रगति विवरण अनुसार आयोजनाको विभिन्न चरणहरुमा वित्तीय र भौतिक प्रगति फरक फरक रहेको छ ।

विवरणअनुसार मेलम्ची डाइभर्सनतर्फको काममा हालसम्म ९३.३१ प्रतिशत वित्तीय प्रगति भएको छ । यस खण्डमा पुँजीगततर्फ २९ अर्ब ३७ करोड ७२ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै, चालुतर्फ १ अर्ब १५ करोड ८० लाख रुपैयाँ खर्च भएको छ । भौतिक प्रगति भने ९२.६७ प्रतिशत रहेको छ । आयोजनाको अर्काे महत्वपूर्ण खण्ड मेलम्ची पुनस्र्थापनामा भने खासै प्रगति देखिएको छैन । यसमा हालसम्म २३.३६ प्रतिशत मात्रै वित्तीय प्रगति भएको छ भने ३४.९४ प्रतिशत भौतिक प्रगति भएको छ ।

बहुप्रतिक्षित मेलम्ची दोस्रो चरणको काम भने निकै सुस्त गतिमा अगाडि बढेको छ । हालसम्म यस चरणको जम्मा ४.१६ प्रतिशत वित्तीय प्रगति भएको छ । यसका लागि १ अर्ब करोड ४५ करोड ३७ लाख रुपैयाँ खर्च भएको छ । भौतिक प्रगति भने १२.४७ प्रतिशत मात्रै पुगेको छ ।

समग्र आयोजनाको लागि गत आवमा कुल बजेट १ अर्ब ६४ करोड १८ लाख रुपैयाँ रहेकोमा ४३ करोड ९८ लाख ७० रुपैयाँ मात्र खर्च भएको छ ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार  १३ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।