१३ करोड लागतमा निर्माण भएको अस्पताल सञ्चालनको पर्खाइमा


गुल्मी । “म आफैँलाई मधुमेह (सुगर) छ । नियमित जाँच र औषधि लिन बुटबल जानुपर्छ”, चन्द्रकोट गाउँपलिका–६ हरेवाकी लीलमाया शर्माले भने, “घरैअगाडि १५ शय्याको अस्पताल बनेको छ । सञ्चालनमा नआउँदा सेवा लिन पाइएको छैन ।”

शर्माले अस्पताल बनाउने समयमा आफूहरूले गरिखाने खेत माया मारेर अस्पतालका लागि जग्गा दिए पनि अहिले सञ्चालनमा नआउँदा दुःख लागेको बताए । उनको घरबाट नवनिर्मित १५ शय्याको चन्द्रकोट अस्पताल ५ मिनेटभन्दा कम दूरीमा छ । तर निर्माण सम्पन्न भएपछि आफूहरू अस्पताल सञ्चालनकै पर्खाइमा हुँदा शर्माले त्यसको उपभोग गर्न पाएका छैनन् । उनले नजिकैको अस्पताल सञ्चालनमा आए आफूजस्ता अन्यलाई पनि औषधि लिनका लागि बुटबलसम्म आवतजावत गर्ने समय र पैसाको बचत हुने बताए ।

“अस्पताल छिटो सञ्चालनमा आउनुपर्छ”, शर्माले भने । उनले निःशुल्क रूपमा चारआना जग्गा पनि प्रदान गरेका थिए । विसं २०७७ मङ्सिर १५ मा देशभरका ३९६ पालिकामा एकैसाथ पाँच, १० र १५ शय्याका आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो । जसमा चन्द्रकोट गाउँपालिका–६ मा १५ शय्याको आधारभूत अस्पतालको तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गरेका थिए । हाल अस्पताल निर्माण सम्पन्न भएपछि चन्द्रकोटवासी सञ्चालनको पर्खाइमा छन् ।

स्थानीय कुमारबहादुर सार्कीले अस्पताल सञ्चालन नहुँदा उपचारका लागि पाल्पा वा बुटबल धाउनुपर्ने बाध्यता रहेको बताए । उनले अस्पताल सञ्चालनका लागि प्रदेश र केन्द्र सरकारले पनि ध्यान दिनुपर्ने बताए ।

उनले भने, “यति ठूलो अस्पताल पालिका एक्लैले सञ्चालन गर्न सक्दैन, प्रदेश र केन्द्र सरकारले पनि सहयोग गर्नुपर्छ ।” चन्द्रकोट गाउँपालिका–६ मा १३ करोड ६६ लाख रुपैयाँको लागतमा १५ शय्याको भवन निर्माण गरिएको हो । चन्द्रकोटमा अस्पतालका साथसाथै चिकित्सक बस्ने २ तले आवास भवन पनि निर्माण गरिएको छ ।

गाउँपालिका अध्यक्ष युवराज केसीले अस्पताल सञ्चालनका लागि चिकित्सकको विज्ञापन खुलाउने गरी बजेट स्वीकृत गरिएको बताए ।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार  १३ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।