खाद्यान्नमा कोशी प्रदेश आत्मनिर्भर


विराटनगर । कोशी प्रदेशमा गएको आर्थिक वर्षमा दुई लाख ७५ हजार २६७ हेक्टर जग्गामा कूल ११ लाख ८२ हजार २२१ मेट्रिक टन वर्षे धानबाली उत्पादन भएको छ । कृषि विकास निर्देशनालय विराटनगरका अनुसार प्रदेशमा कूल ७ लाख १३ हजार ३३३ हेक्टर जग्गा खेतीयोग्य छ ।

सिँचाइको अभाव र आकाशे पानीको निर्भरताले सबै जग्गामा बाली लगाउन किसान सकिरहेका छैनन् । ४.२९ मेट्रिक टन उत्पादकत्व रहेको धानबाली अघिल्लो वर्षको तुलनामा १.९७ प्रतिशत बढी क्षेत्रमा धान बढी लगाइएको थियो भने उत्पादन पनि ३.१९ प्रतिशत बढी भएको हो ।

निर्देशनालयका अनुसार सो अवधिमा ४३ हजार ८६८ हेक्टर जग्गामा चैते धान २ लाख ३८ हजार ३०८ मेट्रिक टन, मकै २ लाख ७७ हजार १६६ हेक्टर जग्गामा ११ लाख ६६ हजार १४८ मेट्रिक टन, कोदो ५७ हजार २७४ हेक्टर जग्गामा ८५ हजार ९७२ मेट्रिक टन, गहुँ ५१ हजार ६३५ हेक्टर जग्गामा १ लाख ३७ हजार ७३० मेट्रिक टन, फापर २ हजार ८९६ हेक्टर जग्गामा ४ हजार ७७५ मेट्रिक टन र जौ ९८६ हेक्टर जग्गामा १ हजार २८५ मेट्रिक टन उत्पादन भएको हो ।

सो अवधिमा सुन्तला ८ हजार १०७ हेक्टर जग्गामा ६४ हजार ८२४ मेट्रिक टन र हिउँदे फलफूल २ हजार ८७३ हेक्टर जग्गामा २१ हजार ४४ मेट्रिक टन उत्पादन भएको थियो । सुन्तलाको उत्पादकत्व ८ मेट्रिक टन र हिउँदे फलफूलको उत्पादकत्व ७.३२ मेट्रिक टन रहेको निर्देशनलायको भनाइ छ ।

प्रदेशमा आव २०८१/८२ मा दलहन बाली ३५ हजार १३२ हेक्टर जग्गामा ४० हजार ९३७ मेट्रिक टन र तेलहन बाली ४१ हजार ६८१ हेक्टर जग्गामा ५१ हजार ५१५ मेट्रिक टन उत्पादन भएको निर्देशनालयका निर्देशक प्रकाशकुमार डाँगीले जानकारी दिए ।

उनका अनुसार आलु ६६ हजार ३९९ हेक्टर जग्गामा १० लाख ८७ हजार ४११ मेट्रिक टन, अलैँची १४ हजार १९१ हेक्टर जग्गामा ७ हजार १५० मेट्रिक टन, उखु ५ हजार ९३२ हेक्टर जग्गामा ३ लाख ४२ हजार २८५ मेट्रिक टन, च्याउ ६ हजार १२१ मेट्रिक टन उत्पादन भएको हो ।

उनले आलु र उखुको उत्पादन बढे पनि अलैँचीको उत्पादन ५.७ प्रतिशतले कमी भएको जानकारी दिँदै सरदर प्रदेशमा एक व्यक्ति १९१ केजी खाद्यान्न आवश्यकतालाई पूरा गरेर सो अवधिमा छ लाख ९७ हजार ३५५ मेट्रिक टन बचत भई खाद्यान्नमा आत्मनिर्भर भएको जानकारी दिए ।

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार  १५ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।