नागरिक लगानी कोषको नाफा बढ्यो, प्रतिशेयर आम्दानीमा भने गिरावट


काठमाडौँ । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा १३.७१ प्रतिशतले वृद्धि गर्दै १ अर्ब २५ करोड ३५ लाख ७० हजार रुपैयाँ पुगाएको छ ।

तर सोहि अवधिमा कोषको प्रतिशेयर आम्दानी भने घटेको छ । कोषले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कोषको खुद नाफा १ अर्ब १० करोड २४ लाख १० हजार रुपैयाँ थियो ।

विवरण अनुसार कोषको कुल आम्दानी ८.९६ प्रतिशतले बढेर २ अर्ब ९ करोड ७४ लाख १० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कोषको कुल आम्दानी १ अर्ब ९२ करोड ४९ लाख ४० हजार रुपैयाँ थियो । कोषको आम्दानीमा मुख्य योगदान सेवा तथा कमिसन शुल्कको रहेका छ । जुन अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४१ करोड १२ लाख ५१ हजार रहेकोमा बढेर १ अर्ब ६५ करोड ३५ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

यद्यपि कोषको ब्याज आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा ब्याज आम्दानी ४४ करोड २५ लाख ४८ हजार रुपैयाँ रहेकामा घटेर ३३ करोड ७४ लाख ३० हजार रुपैयाँ पुगेको छ ।

नाफामा उल्लेख्य वृद्धि भएपनि कोषको प्रतिशेयर आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा २०.७५ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी १९.३४ रुपैयाँ पुगेको छ । चुक्ता पूँजीमा भएको वृद्धिको कारण प्रतिसेयर आम्दानीमा असर परेको हो ।

कोषको खर्च व्यवस्थापन पनि प्रभावकारी देखिएको छ । कुल खर्च अघिल्लो आर्थिक वर्षमा ४५ करोड ५० लाख ६० हजार रुपैयाँ रहेकोमा घटेर ४२ करोड ४२ लाख ७२ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म कोषको जगेडा कोषमा २० अर्ब ११ करोड ७६ लाख १६ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार  १३ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।