काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि अनुदानमा उपलब्ध गराउने रासायनिक मलको आपूर्तिका लागि टेन्डर प्रक्रियालाई तीव्रता दिएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको २० दिनमै लक्ष्यको आधा टेन्डर प्रक्रिया सम्पन्न भइसकेको छ ।
मन्त्रालयका अनुसार यो आर्थिक वर्षको लागि कुल ६ लाख मेट्रिक टन मल आपूर्तिको वार्षिक लक्ष्य रहेको छ, जसको लागि २८ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ ।
सोहि लक्ष्यअनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशनमार्फत युरिया, डिएपी र पोटास मलको आपूर्ति प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार साउन २० गतेसम्म युरिया १९ हजार ८३५ मेट्रिक टन र डिएपी ५ हजार ५४८ मेट्रिक टन आपूर्ति भइसकेको छ । यसमध्ये कृषि सामग्री कम्पनीले १८ हजार ५३० मेट्रिक टन र साल्ट ट्रेडिङ्गले ६ हजार ८८३ मेट्रिक टन मल आपूर्ति गरेका छन् ।
यसका साथै मन्त्रालयले अहिले सम्म मौज्दात अवस्था पनि उल्लेख्य मात्रामा रासायनिक मल रहेको जनाएको छ । मन्त्रालयका अनुसार युरिया १९ हजार ९२३ मेट्रिक टन, डिएपी १० हजार ४४८ मेट्रिक टन र पोटास ६११ मेट्रिक टन मौज्दात रहेको छ । कुल मौज्दात ३० हजार ९८३ मेट्रिक टन पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
विगतको तुलनामा यस वर्ष मल आयातको प्रक्रियालाई तब्रि पारिएको मन्त्रालयले जनाएको छ । हालसम्म कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ्गमार्फत १ लाख ४० हजार ५०४ मेट्रिक टन मल बिक्री भइसकेको छ । जसमा युरिया ३६ हजार ७१६ मेट्रिक टन र डिएपी १ लाख ३ हजार ७८७ मेट्रिक टन रहेका छन् ।
मन्त्रालयका अनुसार कृषकलाई मल अभाव नहोस् भन्ने उद्देश्यका साथ समयमै खरिद, आपूर्ति र वितरणमा जोड दिइएको छ ।












प्रतिक्रिया