पञ्चायतले सुरु गरेको आयोजनाको प्रगति ८२ प्रतिशतमै सीमित

गणतन्त्रले गर्ला त सम्पन्न ?


काठमाडौँ । पञ्चायतकालको अन्तिम चरणमा सुरु गरिएको बबई सिँचाइ आयोजना ३४ वर्ष बितिसक्दा पनि अझै सम्पन्न हुन सकेको छैन । बर्दियाको कृषि विकासमा क्रान्ति ल्याउने उद्देश्यले सुरू गरिएको यो आयोजना हालसम्म ८२ प्रतिशत भौतिक प्रगतिमै सीमित छ ।

आर्थिक वर्ष २०४५/४६ मा सुरु गरिएको आयोजनाको सुरुवाती लागत २ अर्ब ५६ करोड रुपैयाँ थियो । तर पटकपटक म्याद र बजेट थपिँदै जाँदा हाल आयोजनाको संशोधित लागत १८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

हालसम्म आयोजना निर्माणमा १५ अर्ब ४२ करोडभन्दा बढी खर्च भइसकेको छ । तर पूरा आयोजना सम्पन्न हुन अझै केही वर्ष लाग्ने देखिएको छ ।

आयोजना अन्तर्गत मुख्य हेडवक्र्स (३१५ मिटर) र साइफन (५५१ मिटर) को निर्माण कार्य सम्पन्न भइसकेको छ ।
त्यसैगरी, पूर्वी मूल नहर (३४.५ कि.मी.) निर्माण कार्य पुरा भएको छ भने पश्चिमी मूल नहरतर्फ ४१.८ किलोमिटरमध्ये ३९.६ किलोमिटर मात्र सम्पन्न भएको छ ।

शाखा/प्रशाखा नहरको ३९३.१३ किलोमिटरमध्ये हालसम्म ३२९.५ किलोमिटर निर्माण कार्य सकिएको छ ।
नेपाल सरकार र अन्तर्राष्ट्रिय विकास संस्थाको संलग्नतामा बबई सिँचाइक्षेत्रको विकास सम्बन्धी विस्तृत अध्ययन २०२४ सालदेखि नै सुरु भएको थियो ।

यो आयोजना २०४५/४६ सालदेखि सुरु भई २०४९/५० सालमा पहिलो चरणको काम सम्पन्न भएको थियो । जसमा हेडवक्र्स र ५.५ किलोमिटर मूल नहर निर्माण गरि परम्परागत कुलोबाट कृषकहरूलाई सुविधा दिइएको थियो । २०५१ देखि २०५८ साल सम्म २२.५ किलोमिटर मूल नहर निर्माण गरिएको थियो ।

आयोजनाको दोस्रो चरणको कार्य २०५८ देखि सुरु भएको थियो । बबई नदीमै साइफन निर्माण गरि पश्चिम तर्फको नहर निर्माण कार्य २०६८/६९ मै सुरु भएको थियो । राष्ट्रिय गौरबको आयोजनामा सूचिकृत भएपछि नहर निर्माणको कार्यले तिव्रता पाएको थियो ।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार  १२ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।