सागर डिष्टिलरीको आईपीओ निष्काशन, क–कसले दिन पाउँछन् आवेदन ?


काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले बुधबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्काशन गरेको हो ।

कम्पनीले ७२ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशत बराबरको १४ करोड ५२ लाख रुपैयाँ अर्थात १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत बराबरको १ लाख ४५ हजार २०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरिसकेका नेपालीहरूका लागि छुट्याइएको हो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। आवेदन भदौ १ गतेसम्म दिन सकिनेछ भने सो अवधिमा पूर्ण सदस्यता नपुगेमा भदौ ११ गतेसम्म अवधि लम्बिनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको समयमा वित्तीय दायित्व पूर्ण गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार  १० : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।