नेपालमा लसुनको आयात डरलाग्दो, एकै वर्षमा ३०३ प्रतिशतले वृद्धि


काठमाडौँ । नेपालीहरुको भान्सामा अनिवार्य मानिने लसुनको आयातमा अस्वभाविक वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा लसुन आयात ३०३.५९ प्रतितशतले वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यसले कृषिजन्य वस्तुमा आत्मनिर्भर हुने सरकारी घोषणालाई चुनौती दिएको छ ।

तथ्यांक अनुसार, गत आर्थिक वर्ष २०८१/०८२ मा ६ अर्ब ७५ करोड ४० लाख २८ हजार रुपैयाँको ५ करोड १२ लाख ५५ हजार ९४८ किलोग्राम लसुन आयात भएको छ । सो परिमाणमा लसुन आयात गर्दा विभागले १ अर्ब ७४ करोड २६ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब २२ करोड ५२ लाख ८८ हजार रुपैयाँको १ करोड ७० लाख ४१ हजार २३३ किलोग्राम लसुन आयात भएको थियो ।

नेपालमा पछिल्लो समय लसुन आयातमा अस्वाभाविक वृद्धि भएको छ । सरकारले कृषिजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा अस्वाभाविक रूपमा लसुन आयात बढ्नु चिन्ताको विषय हो ।

आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ११ करोड २६ लाख २० हजार रुपैयाँ बराबरको ९० लाख ९३ हजार ५९६ किलोग्राम लसुन आयात भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५ करोड ३५ लाख ५६ हजार रुपैयाँको ९१ लाख ४० हजार ८७५ किलोग्राम र आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ५ करोड ९६ लाख ६८ हजार रुपैयाँको १ करोड ६० हजार ७०० किलोग्राम लसुन आयात भएको थियो ।

लसुन आयात अस्वाभाविक रूपमा भए पनि त्यसको मूल्य पनि अकासिएको छ । धेरै परिमाण आएको समयमा लसुनको मूल्यमा गिरावट आउनुपर्ने भए पनि त्यो हुन सकेको छैन ।
नेपालमा उपभोक्ता लगायत चाउचाउ र अचार उद्योगले ठूलो मात्रामा लसुनको प्रयोग गर्ने भएकाले आयात बढी भएको उपभोक्ताहरुको दाबी छ ।

नेपालमा आयात हुने लसुनको ठूलो हिस्सा चीनको रहेको छ । गत वर्ष चीनबाट मात्रै ६ अर्ब ६९ करोड ९९ लाख ६२ हजार रुपैयाँको ५ करोड ७ लाख ९३ लाख ६६७ किलोग्राम लसुन आयात भएका छ । भारतबाट ५ करोड ४० लाख ६६ हजार रुपैयाँको ४ लाख ६२ हजार २८१ किलोग्राम लसुन आयात भएको हो । नेपालमा ज्यादै कम मात्र व्यावसायिक खेती हुने गरेकाले लसुनलगायतका मसला बालीमा परर्निभर हुनु परेको हो ।

सरकारले पनि व्यावसयिक खेती कार्यक्रम सञ्चालन गर्न नसक्दा निर्यातभन्दा आयात अस्वभाविक देखिएको हो । बजारको माग पूरा हुन नसकेपछि छिमेकी मुलुकहरुबाट लसुनको आयात गरिँदै आएको व्यवसायीहरू बताउँछन् । नेपाल र भारतमा फल्ने लसुनको तुलनामा चाइनिज लसुन पोटिलो र ठूलो छ । यसको प्रयोग पनि सहज हुने भएको कारण चाइनिज लसुनप्रति आर्कषण देखिएको छ ।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार  ०७ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।