गत आर्थिक वर्षमा उद्योग, पर्यटन तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेशको बजेट खर्च ७१ प्रतिशत मात्र


काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले विनियोजित बजेको ७१.०३ प्रतिशत मात्र खर्च गर्न सकेको छ । मन्त्रालयको लागि १ अर्ब ४४ करोड ४७ लाख ३ हजार रुपैयाँ बजेट विनियोजनन गरेकोमा १ अर्ब २ करोड ९९ लाख ४८ हजार ७२८ रुपैयाँ मात्र खर्च भएको पाइएको हो ।

मन्त्रालयको वित्तीय प्रगति विवरण अनुसार चालु खर्चतर्फ पनि अपेक्षित प्रगति हुन सकेको देखिँदैन । गत आर्थिक वर्षमा चालुतर्फ ६२ करोड ४७ लाख ९३ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ५६.३६ प्रतिशत अर्थात ३५ करोड २१ लाख ९१ हजार ५८ रुपैयाँ खर्च गरेको थियो ।

विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्चको अवस्था झनै कमजोर देखिएको छ । गत वर्ष पुँजीगत खर्चतर्फ ८१ करोड ९९ लाख १० हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा ८२.२९ प्रतिशत अर्थात ६७ करोड ४७ लाख ५७ हजार ६७० रुपैयाँ खर्च मात्र खर्च भएको हो ।

३ अर्ब राजस्व संकलन

मन्त्रालयले गत आर्थिक वर्षमा ३ अर्ब बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षमा मन्त्रालयले कुल ३ अर्ब ७ करोड १० लाख ७२ हजार ७३९ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

जसमा सबैभन्दा बढी यातायात व्यवस्था कार्यालयहरुले २ अर्ब ९३ करोड ५५ लाख २ हजार ८३२ रुपैयाँ राजस्व संकलन गरेका छन् ।

त्यस्तै, मन्त्रालय स्वयंमले २ करोड ५५ लाख ४६ हजार ५२७ रुपैयाँ राजस्व संकलन गरेको छ । घरेलु तथा साना उद्योग कार्यालयद्धारा १० करोड १ लाख ८९ हजार ७९५ रुपैयाँ राजस्व संकलन भएको छ भने पर्यटन कार्यालयहरुले ९८ लाख ३३ हजार ५८७ रुपैयाँ राजस्व संकलन गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार  १४ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।