अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा


काठमाडौँ । अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग भृकुटीमण्डपमा कार्यरत सचिन्द्रकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले यादव सरकारी सेवामा नियुक्त भएको २०६६ जेठ २४ देखि २०७९ साउन २९ गतेसम्मको परीक्षण गरेको थियो ।

यादवले सो अवधिमा कुल २ करोड ६८ लाख १८ हजार ९०० रुपैयाँ बराबरको वैध आयआर्जन गरेको देखिन्छ । सो अवधिमा यादवले ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । आयोगले परीक्षण गर्दा ९६ लाख ८५ हजार ५५३ रुपैयाँ बराबरको रकमको स्रोत खुल्न नसकेको पाइएको छ ।

पदीय हैसियत दुरुपयोग गरेर गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको आयोगको आरोप छ । आयोगका अनुसार गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी आशाकुमारी यादवको नाममा राखेको समेत पाइएको छ ।

आयोगले आरोपी यादव र उनकी पत्नी आशाकुमारीलाई प्रतिवादी कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार  ०८ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।