चार महिनामा विपद्का २ हजार ८१६ घटना

घटनामा परेर १२४ जनाको ज्यान गुमाए भने ५८२ जना घाइते भए


काठमाडौँ । गत वैशाखदेखि आज साउन ३० गतेसम्म देशभर कुल २ हजार ८१६ विपद्का घटना भएका छन् । ती घटनाबाट ४ हजार ९८९ घरपरिवार प्रभावित भएका छन् । विपद्का घटनामा परेर १२४ जनाको ज्यान गएको छ भने ५८२ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा बाढीजन्य २१२ घटना हुँदा १८ जनाको ज्यान गएको छ भने ७ जना बेपत्ता भएका छन् । बाढीबाट १ हजार ४०४ घरपरिवार प्रभावित भएका छन् ।

प्राधिकरणको विवरणअनुसार पहिरोका कुल ३१२ घटना भएका छन् । त्यसमा परेर १५ जनाले ज्यान गुमाए भने ७ जना घाइते भएका छन् । भारी वर्षाका कारण २०७ घटनाबाट ४ जनाको ज्यान गयो भने ८ जना घाइते भएका छन् ।

चट्याङका २४५ घटनाबाट २८ जनाको ज्यान गयो भने १६९ जना घाइते भए, सर्पदंशका ७५ घटनाबाट ११ जनाको मृत्यु हुँदा ७० जना घाइते भएका छन् । आगलागीका १ हजार १०५ घटनाबाट १५ जनाको ज्यान गयो भने १५३ जना घाइते भएका छन् । वन डढेलोका १५८ घटनाबाट २ जना घाइते भएका छन् ।

हावाहुरीका २७७ घटनाबाट ८ जनाले ज्यान गुमाए भने ४० जना घाइते भए, जनावर आक्रमणका १६९ घटनाबाट १३ जनाको ज्यान गयो भने ७२ जना घाइते भएका छन् ।

त्यस्तै, लेक लागेर ४६ घटना घट्दा १२ जनाको ज्यान गयो भने ३८ जना घाइते भएका छन् । भूकम्पका ५ घटना भएका छन् ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार  १६ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।