साउन अन्तिमसम्म कोशी प्रदेशमा ९४ प्रतिशत मात्र धान रोपाइँ, गत वर्षभन्दा पौने ४ प्रतिशतले कमी


काठमाडौँ । कोशी प्रदेशमा यस वर्ष साउन अन्तिमसम्ममा ९४.४२ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । प्रदेश सरकारको कृषि निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष धान रोपाइँ ३.७५ प्रतिशतले कमी भएको हो । गत वर्ष यसै अवधिमा ९८.१७ प्रतिशत धान रोपाई सम्पन्न भएको थियो ।

प्रदेशको कुल धान खेती हुने २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म २ लाख ६० हजार ९६४ हेक्टरमा क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ । कोशी प्रदेशको तराई क्षेत्रका जिल्लाहरु झापा, मोरङ र सुनसरीमा औसत ९६.६५ प्रतिशत रोपाइँ भएको छ ।

त्यसैगरी, मध्य पहाडी जिल्लाहरूमा ९१.३८ प्रतिशत र उच्च पहाडी जिल्लाहरूमा ७९.७३ प्रतिशत मात्र रोपाइँ भएको निर्देशनालयले जनाएको छ । जिल्लागत तथ्यांक हेर्दा ओखलढुंगा जिल्लामा मात्र शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यस्तै सुनसरीमा ९८ प्रतिशत, झापामा ९६.४० प्रतिशत र मोरङमा ९६ प्रतिशत धान रोपाइँ भएको छ ।

सबैभन्दा कम रोपाइँ भने ताप्लेजुङ जिल्लामा भएको छ । सो जिल्लामा ७५.७६ प्रतिशत मात्र रोपाइँ सकिएको छ । त्यसैगरी संखुवासभामा ८० प्रतिशत, धनकुटामा ८०.७१ प्रतिशत, तेह्रथुममा ८३ प्रतिशत, भोजपुरमा ८७ प्रतिशत र पाँचथरमा ८९ प्रतिशत रोपाइँ भएको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार  १७ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।