गत आर्थिक वर्षमा समग्र बजेट कार्यान्वयन प्रगति ६३ प्रतिशत मात्र


काठमाडौँ । सरकारले गत आर्थिक वर्ष २०८१÷८२ मा विनियोजित बजेट कार्यान्वयनमा समग्र ६३.२ प्रतिशत मात्र प्रगति हासिल गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले आयोजना गरेको गत आर्थिक वर्षको बजेट कार्यान्वयन समिक्षा कार्यक्रममा उक्त तथ्यांक प्रस्तुत गरिएको हो ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा कूल ६६४ वटा क्रियाकलापमध्ये ५१९ वटा मात्र सम्पन्न भएको, १२९ वटा चालु अवस्थामा रहेका छन् ।
समग्रमा निर्धारित १ हजार ९०० माइलस्टोनहरुमध्ये ६५ प्रतिशत अर्थात १ हजार २३६ वटा मात्रै सम्पन्न भएका छन् । यस अवधिमा आयात तथा निर्यातमा दुबैमा उल्लेख्य वृद्धि भएको छ । आयात १३.३ प्रतिशतले बढ्दा निर्यात ८१.८ प्रतिशतले बढेको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कार्यमा ढिलासुस्ती नगरी तिव्रता दिन र परिमाणमुखी नतिजा निकाल्न मन्त्री तथा सविहरुलाई निर्देशन दिएका छन् । उनले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्न सबैले दत्ततित्त भएर लाग्न आग्रह गरेका छन् ।

कार्यक्रममा चालु आर्थिक वर्ष २०८२÷८३ मा लागि प्रधानमन्त्री, मन्त्रीहरु र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर समेत भएको छ । चालु आर्थिक वर्षका लागि ३९२ कार्यसम्पादन, ७०३ वटा क्रियाकलापहरु, र १ हजार ८८ वटा माइलस्टोनहरु तय गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको काम नरोक्न, खानीजन्य उदार्थको उत्खनन उत्पादन र निर्यात बढाउन तथा जनताले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार  १२ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।