एउटै खोलामा ६ जलविद्युत् आयोजना, स्थानीय नागरिकको आर्थिक विकासमा टेवा पुग्ने


गलकोट । बागलुङको ताराखोला गाउँपालिका जलविद्युत्को हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल २ जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने २ योजना निर्माणधीन र दुई प्रक्रियामा छन् ।

सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा २ दशमलव ५ मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माणसम्पन्न गरी विद्युत् उत्पादनसमेत गरिसकेको छ । यो निजी कम्पनीले बनाएको पहिलो आयोजना होे । यसअघि समुदायको प्रयासमा स–साना लघु जलविद्युत् सञ्चालनमा थिए ।

सयपत्री जलविद्युत् निर्माणपश्चात् ताराखोलामा ५ वटा जलविद्युत् आयोजना थपिने क्रममा रहेका छन् । जसमध्ये ताराखोला जलविद्युत् आयोजना सम्पन्न भइसकेको छभने अन्य ४ वटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेका छन् ।

५ वर्षअघि ३८० किलोवाटको ताराखोला जलविद्युत् आयोजना निर्माणसम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । हाल यहाँ मध्यताराखोला मध्य दरम ‘ए’ जलविद्युत् आयोजना धमाधम निर्माण भइरहेको छ । यस आयोजनाको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

यस्तै दरम ‘ए’ जलविद्युत् आयोजनाको ४ मेघावट क्षमताको पूर्वाधार निर्माणले गति लिएको छ । यहाँ ४० प्रतिशत पूर्वाधारको काम सम्पन्न भइसकेको आयोजना सञ्चालक मिलन खतिवडाले जानकारी दिए।

यहाँ ३ दशमलव ५ मेघावाट तल्लो ताराखोला जलविद्युत् आयोजना र ४ दशमलव ५ मेघावाट मध्यदरम ‘बी’ आयोजना निर्माणको प्रक्रियामा रहेको छ ।

ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले ताराखोलामा जलविद्युत् आयोजनामा स्थानीयको समेत लगानी भएकाले यसको निर्माणले आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताउछन्। “मध्ये ताराखोला र मध्यदरम ‘ए’ जलविद्युत् आयोजनाले गति लिएको छभने ताराखोला हुँदै गलकोटसम्म अन्य ३ आयोजनाको कामसमेत अगाडि बढेको छ”, उनले भने, “स्थानीयको समेत करोडौँ लगानी रहेका जलविद्युत् आयोजना सम्पन्न भएमा ताराखोलाको आर्थिक विकासमा टेवा पुग्ने छ ।”

गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले आयोजना निर्माणले गति लिएपछि स्थानीयस्तरमा उत्साह बढेको बताउछन् । “हाम्रो गाउँपालिकामा विद्युत् उत्पादनका लागि धेरै आयोजना बन्नु गर्वको विषय हो । यसले पक्कै पनि गाउँपालिका आर्थिक उन्नयन र नागरिकको जीवनमा सकारात्मक प्रभाव पर्नेछ । यसकारण सबै उत्साहित छौँ ।”

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार  ०६ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।