चालु आर्थिक वर्षको पहिलो महिनामा १४.२३ प्रतिशतले घट्यो घरजग्गा कारोबार


काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा घरजग्गा कारोबारमा १४.२३ प्रतिशतले कमी आएको छ । भुमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा देशभरबाट ३१ हजार ६२१ वटा जग्गा लिखत पारित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ४३ हजार ८३५ वटा घरजग्गाको लिखत पारित भएको थियो ।

लिखत पारितमा आएको कमीसँगै यसबाट संकलन हुने राजस्वमा पनि गिरावट आएको छ । विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामा घरजग्गा कारोबारबाट ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ रुपैयाँ राजस्व संकलन भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा घरजग्गा कारोबारबाट ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार ८८५ रुपैयाँ राजस्व संकलन भएको थियो ।

चालु आवको पहिलो महिना साउनमा संकलन भएको ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँमध्ये १ अर्ब ८० करोड १ लाख १२ हजार २१३ रुपैयाँ रजिस्ट्रेसन दस्तुरबापत संकलित भएको देखिएको छ ।
त्यस्तै, पुँजीगत लाभकरबाट १ अर्ब १९ करोड ११ लाख ९९ हजार ७३८ रुपैयाँ प्राप्त भएको छ भने सेवा करबापत २६ करोड २६ लाख २९ हजार ६५५ रुपैयाँ प्राप्त भएको विभागको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको साउनमा संकलित राजस्वमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकाका मालपोत कार्यालयहरुबाट संकलन भएको छ । साउन महिनामा काठमाडौंको डिल्लीबजार मालपोत कार्यालयबाट २६ करोड २ लाख २२ हजार रुपैयाँ संकलन भएको छ ।
त्यस्तै, भक्तपुर मालपोतबाट २३ करोड ६८ लाख ८२ हजार, लगनखेल मालपोत कार्यालयबाट ४३ करोड ४ लाख ९५ हजार ८०६ रुपैया, कलंकी मालपोतबाट २१ करोड ३१ लाख ४१ हजार, चावहिल मालपोत कार्यालयबाट १७ करोड ६९ लाख ५३ हजार ५५५ रुपैया राजस्व संकलन भएको छ ।

टोखा मालपोत कार्यालयबाट ४ करोड ७१ लाख ३ हजार १८२ रुपैयाँ, मनमैजु मालपोतबाट ६ करोड ३४ लाख ५२ हजार ७३४ रुपैयाँ, साँखु मालपोतबाट ५ करोड ६० लाख २८ हजार ८९३ रुपैयाँ र गोटीखेल मालपोत कार्यालय ललितपुरबाट १ लाख ६२ हजार ३९५ रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

उपत्यकापछि इनरुवा मालपोत सुनसरीबाट ८ करोड ७० लाख ७९ हजार रुपैयाँ राजस्व संकलन भएको छ भने मोरङ मालपोतबाट ४ करोड ७४ लाख ८४ हजार, सिमरा मालपोतबाट ३ करोड ५६ लाख ७१ हजार राजस्व संकलन भएको छ ।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार  १२ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।