रेमिट्यान्स आप्रवाहमा कीर्तिमान, एकै वर्षमा भित्रियो १७ खर्ब बढी रेमिट्यान्स


काठमाडौँ । गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालमा भित्रिएको रेमिट्यान्स आप्रवाहले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १९.२ प्रतिशतले बढी हो ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको असारमा मात्र १ खर्ब ९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब १७ अर्ब ७ करोड रहेको थियो ।

गत वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।

यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ, जुन अघिल्लो वर्ष १५ खर्ब ७१ अर्ब २४ करोड रहेको थियो ।

वैदेशीक रोजगारीमा जानैको संख्यामा आएको वृद्धिले विप्रेषण आप्रवाहलाइ  टेवा पुगेको देखिन्छ ।

गत वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ५ लाख ५ हजार ९५७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ३३ हजार ३०९ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ रहेको थियो ।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार  १६ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।