झापामा नागरिकताभन्दा राहदानी बनाउने धेरै


झापा । जिल्लामा नागरिकता प्रमाणपत्रभन्दा राहदानी प्रमाणपत्र लिनेको सङ्ख्या धेरै छ । जिल्ला प्रशासन कार्यालयसहित दमक र गौरीगञ्जको इलाका प्रशासन कार्यालयबाट नागरिकता र राहदानी वितरण हुँदै आएको छ । सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार साउनमा झापामा १ हजार २८९ जनालाई नेपाली नागरिकता प्रमाणपत्र वितरण गरिएको छ । जबकि सोही महिनामा दुई हजार ३३३ जनालाई राहदानी प्रमाणपत्र वितरण भएको छ ।

नागरिकतामध्ये वंशजका आधारमा लिनेहरू १ हजार २३० जना छन् भने वैवाहिक अङ्गीकृत ५५ जनाले र गैरआवासीय नागरिकता ४ जनाले लिएको निरौलाले बताए। गत एक वर्षको तथ्याङ्कले समेत नागरिकताको तुलनामा राहदानी लिनेहरू धेरै रहेको देखाउँछ । आर्थिक वर्ष २०८१/८२ मा झापामा २२ हजार ७७७ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको थियो ।

सोही आवमा झापाबाट राहदानी प्रमाणपत्र लिनेको सङ्ख्या ३३ हजार २२४ पुगेको सहायक प्रजिअ निरौलाले जानकारी दिए। गत वर्ष नागरिकताको तुलनामा राहदानी लिनेहरू १० हजार ४४७ ले बढी थिए । उक्त आवमा बंशजको आधारमा २२ हजार ४० जनाले, वैवाहिक अङ्गीकृतको आधारमा ६ सय ७५ जनाले र गैरआवासीयको आधारमा ६२ जनाले नेपाली नागरिकता प्रमाणपत्र लिएको पाइएको छ ।

नागरिकता र राहदानीको तुलनामा राष्ट्रिय परिचयपत्रको कार्ड लिनेहरू अझ धेरै छन् । साउनमा झापामा ५ हजार ७६७ जनालाई राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गरिएको छ । साउन मसान्तसम्म झापामा ३ लाख ६० हजार ७७२ जनाले राष्ट्रिय परिचयपत्रको कार्ड लिइसकेको सहायक प्रजिअ निरौलाले जानकारी दिए।

प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।