काठमाडौँ । नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
यसअघि शुक्रबार, आइतबार र सोमबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । मंगलबार सहित लगातार चार दिन सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ५ हजार ९०० रूपैयाँ पुगेको छ । सोमबार सुन प्रतितोला २ लाख ५ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो । आजको सुनको मूल्य सोमबारको तुलनामा प्रतितोला ६०० रूपैयाँ बढी हो ।
त्यसैगरी, दैनिक रेकर्ड कायम गरेको चाँदीको मूल्यले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ४८५ रूपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला २ हजार ४७० रूपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ४९५.९७ अमेरिकी डलर र चाँदी ४०.८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया