आन्तरिक उडान बन्द, अन्तरराष्ट्रियतर्फ आधा दर्जन विमान आकाशमै


काठमाडौँ । प्रतिकूल अवस्थाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पूर्ण रुपमा प्रभावित भएको छ । आन्तरिक उडान पूर्ण रुपमा ठप्प छ भने अन्तरराष्ट्रियतर्फका आधा दर्जन विमान आकाशमा ‘होल्ड’ भएका छन् । हिमालय एयरलाइन्सको विमान ‘डाइभर्ट’ भएको छ ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आजका लागि आन्तरिक उडान बन्द गरिएको छ । अन्तरराष्ट्रियतर्फका विमानबारे छिट्टै निर्णय लिइने उनले बताए । ‘फ्लाइट रार्डर’का अनुसार सिमरामाथिको आकाशमा ती विमानहरुले फन्को लगाइरहेका छन् । भारतको मुम्बईबाट आएको एयर इन्डिगो, नयाँ दिल्लीबाट आएको इन्डिगो र नयाँदिल्लीबाटै आएको भिस्तारा एयरलाइन्स होल्ड भएका छन् ।

यस्तै थाइल्यान्डको राजधानी बैङ्ककबाट आएको एयर एसिया, बैङ्ककबाटै आएको थाई लायन र बङ्गलादेशको राजधानी ढाकाबाट आएको विमान बङ्गलादेश होल्डमा बसेका हुन् । विमानस्थलको दक्षिणतर्फ ठूलठूला आगजनी र धुवाँको मुस्लो रहेकाले विमानस्थलको हवाई सुरक्षालाई मध्यनजर गदै हवाई उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार  १५ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।