काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कबाट ३ सय भन्दा बढी सार्वजनिक सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् । ‘जेनजी’को प्रदर्शनका कारण ५ दिनदेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनमा आएसँगै नयाँबसपार्कबाट ३ सय बढी सवारीसाधन बाहिरिएका हुन् ।
नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले आज बिहानदेखि ३ सय भन्दा बढी सार्वजनिक सवारीसाधन यात्रु लिएर नयाँबसपार्कबाट बाहिरिएका जानकारी दिए।
“यही भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण यातायात बन्द हुँदा काठमाडौँमा रहेका यात्रुहरू सार्वजनिक यातायातका साधनमार्फत गन्तव्यस्थलतर्फ जान थालेका छन्”, उनले भने। बिहानदेखि काठमाडौँको कर्फ्यू हटाइएकाले जनजीवन सामान्य बनेसँगै यात्रुवाहक सवारीसाधन सञ्चालन हुन थालेका उनको भनाइ छ ।
उनले दसैँसमेत सुरु हुन लागेकाले नयाँबसपार्कमा अरू समयको तुलनामा यात्रुहरूको घुइँचो लाग्न थालेको बताए । यस वर्षको दसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम ‘टिकट बुकिङ’ भने जेनजी प्रदर्शनका कारण हालसम्म खुल्न सकेको छैन ।रासस












प्रतिक्रिया