पहिलोपटक काठमाडौंबाट सिधै चीनको ग्वाङ्जाओमा उडान गर्दै वायुसेवा निगम


काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पहिलोपटक काठमाडौंबाट सिधै चीनको ग्वाङ्जाओमा उडान गर्ने भएको छ ।

काठमाडौं –ग्वाङ्जाओ–काठमाडौं उडान सातामा तीन वटा गर्ने गरी तालिका बनाएको निगमले जनाएको छ ।

निगमले पहिलो उडान असोज ९ र दोस्रो असोज १२ गते गर्दै छ । त्यसपछि असोज ३० गते र कात्तिक २ र ६ गते उडाने गर्ने छ।

त्यसपछि भने निगमले हरेक आइतबार, मंगलबार र शनिबार ग्वाङ्जाओ उडान गर्ने गरी तालिका तय भएको पनि निगमले जानकारी दिएको छ ।

निगमले करिया र अष्ट्रेलियामा पनि काठमाडौंबाट सिधै उडान गर्ने तयारी गरेको भए पनि ती गन्तव्यको लागि भने अनुमति पाइसकेको छैन ।

हाल वायुसेवा निगमसँग भएको अन्तर्राष्ट्रिय उडानका २ वटा न्यारोबडी र दुइवटा वाइडबडी जहाजबाट कतारको दोहा, मलेसियाको क्वालालम्पुर, यूएईको दुवई, हङकङ, भारतको दिल्ली, मुम्मई, वैङ्लोर, थाइल्याण्डको बैंकक, साउदी अरबको दमाम र जापानको नारिता उडान गर्दै आएको छ ।

काठमाडौं-ग्वाङ्जाओ उडानको भाडादर एकतर्फी ३० हजार र दोहोरो ५० हजार तोकिएको छ ।

 

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार  ०९ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।