काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका कारण सिंहदरबार परिसरमा क्षति पुगेका संरचनाको स्थलत निरीक्षण गरेका छन् ।
मन्त्री घिसिङले दुवै मन्त्रालयका सचिवसहित मङ्गलबार सिंहदरबारको मुख्य भवन र गृहमन्त्रालयको स्थलगत निरीक्षण गरी आन्दोलनका क्रममा गरिएको आगजनी र तोडफोडका कारण पुगेको क्षतिको जानकारी लिएका छन्। सहरी विकास मन्त्रालयले संरचनमा पुगेको क्षति एकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको छ ।
मन्त्री घिसिङले विनाशबाट हामी उठ्यौं भन्ने सन्देश दिन सामान्य अगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालयको परिसरमा आगलागीबाट क्षति भएका सवारी साधन तुरुन्त हटाउने, क्षतिको मूल्याङ्कन तत्काल गर्ने र हाम्रा संरचना हामी आफैं बनाऔं अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग सङ्कलन गरी पुनर्निर्माण सुरु गरिने बताए ।
‘कार्यालयलाई थोत्रो देखाएर राख्नु भएन, भित्री काम गदैं गरौंला तर बाहिरी भाग चिटिक्क बनाएर राख्नु पर्यो, क्षति पुगेका सवारी साधन सिंहदरबार परिसरमा यत्रतत्र छरिएर कुरुप देखिएको छ, तिनीहरुलाई तत्काल हटाएर व्यवस्थापन गर्नुपर्छ, यसबाट हामी उठ्यौं भन्ने सन्देश जान्छ’, मन्त्री घिसिङले भने।










प्रतिक्रिया