काठमाडौँ । कोरला नाका सञ्चालनमा आएको ५ दिनमा ३४ करोड ४७ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । बाढी पहिरोको कारण रसुवा भन्सार पूर्ण रुपमा बन्द र तातोपानी नाका पनि अवरुद्ध भएपछि भदौ ३० गतेदेखि उक्त नाका सञ्चालनमा ल्याइएको हो ।
नाका सञ्चालनमा आएपछिका ५ दिनमा २०९ ओटा इभी गाडी र १०७ ओटा कन्टेनर समान आयात भएको भन्सार विभागले जनाएको छ । हाल कोरला नाकामा आशिकुडा प्रणाली पनि सञ्चालनमा आइसकेको छ ।
साथै नेपाल राष्ट्र बैंकको भदौ ३१ गतेको परिपत्र अनुसार मुस्ताङ भन्सार कार्यालयलाई पनि चिनियाँ भूभाग हुँदै प्रतितपत्र (एलसी) मार्फत सामान आयात गर्न एकीकृत परिपत्र–२०८१ मा समावेश गरिएको छ ।
सरकारले रसुवा र तातोपानी मार्गमा अवरोध कायम रहँदा वैकल्पिक भन्सारमार्फत व्यापारमा निरन्तरता दिन थालेको हो ।
गत असार २४ गते रसुवा जिल्लास्थित लेहेन्दे खोलामा आएको वाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रुपमा बन्द छ ।
तातोपानी भन्सार कार्यालय तर्फ कोदारी राजमार्गमा आएको पहिरोको कारण अवरोध भएको अवस्थामा चीन र नेपालबीचको वैदेशिक व्यपारलाई सहजीकरण गर्न मुस्ताङ जिल्लास्थित मुस्ताङ भन्सार कार्यालय कोरला नाका भदौ ३० गतेबाट पूर्णरुपमा सञ्चालनमा आएको छ ।










प्रतिक्रिया