पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको २ महिनामा १ खर्ब ४६ अर्ब ६४ करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन् । गत आर्थिक वर्षको २ महिनाको तुलनामा चालु आर्थिक वर्षमा यो नाका हुँदै २० प्रतिशत बढी समान भित्रिएका हुन् । जबकी गत आवको दुई महिनाको अवधिमा भने १ खर्ब २२ अर्ब ३२ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले गत आवको २ महिनाको तुलनामा चालु आवमा आयात र निर्यात दूवैमा वुद्धि भएको जानकारी दिए।
‘‘गत आवको २ महिनाको तुलनामा चालु आवमा २४ अर्ब ३२ करोड रुपैयाँ बढी सामान भित्रिएका छन्,’’ उनले भने,‘‘आयात मात्रै होइन् राजस्व सङ्कलनमा पनि वृद्धि भएको छ ।’’ वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको २ महिनाको तुलनामा चालु आर्थिक वर्षको २ महिनामा यो नाका हुँदै हुने निर्यातमा पनि उल्लेखनीय सुधार भएको छ ।
गत आवको २ महिनामा ६ अर्ब ५ करोड रुपैयाँ मूल्यको सामान विदेशीमूलक निर्यात भएको थियो । तर, चालु आवको दुई महिनामा यो नाका हुँदै १७ अर्ब ३ करोड रुपैयाँ मूल्य बराबरको सामान निर्यात भएको छ । गत आवको २ महिनाको तुलनामा चालु आवमा १० अर्ब ९८ करोड रुपैयाँ बढीको सामान निर्यात भएको देखिन्छ ।










प्रतिक्रिया