झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित प्रगतीटोलकी तारादेवी अधिकारीले सञ्चालन गरेको ‘शीतला झोला उद्योग’ले स्थानीयस्तरमा रोजगारीको नयाँ अवसर सिर्जना गरेको छ।
करिब १२ वर्षअघि सिलाइकटाइ तालिमबाट यात्रा सुरु गरेकी अधिकारीले हाल १८ जनालाई नियमित र १५ जनालाई आंशिक रोजगारी दिइरहेकी छन्। काठमाडौँ र भारतबाट ल्याइने कच्चा पदार्थबाट तयार गरिने झोला कोशी प्रदेशदेखि सुदूरपश्चिमसम्म आपूर्ति भइरहेको छ।
उद्योगमा उत्पादन हुने झोलाको मूल्य ५० रुपैयाँदेखि ३,५०० रुपैयाँसम्म पर्छ। उत्पादनसँगै अधिकारी महिलालाई तालिम दिने कार्यमा पनि सक्रिय छन्। तालिमले महिलामा आत्मबल बढेको र आयआर्जनमा टेवा पुर्याएको बताउँदै झोलाको माग अझ बढेसँगै उत्पादन र डिजाइनमा नवीनता ल्याउने तयारी गरिरहेकी छन्।
वार्षिक करिब १५ लाख रुपैयाँ नाफा कमाउँदै आउनु भएकी अधिकारीले सामाजिक सञ्जाल र मेला–हाटमार्फत झोलाको प्रचारप्रसार गर्दै बजार विस्तार गरिरहेकी छन्।
तारादेवी अधिकारीको यो पहल नारी सशक्तीकरण र आत्मनिर्भरताको एक प्रेरणादायी उदाहरण बन्न पुगेको छ।










प्रतिक्रिया