चाडपर्वमा निकुञ्जको सुरक्षामा कडाइ


चितवन । चाडपर्वको समयमा हुन सक्ने चोरीसिकारीलाई मध्यनजर गर्दै चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ ।

कामका सिलसिलामा विदेश वा जिल्ला बाहिर रहेका व्यक्तिहरु आउने क्रम बढेसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिने गर्दछ । यही समयमा तस्करीहरुले योजना बनाउन सक्ने भएकाले निकुञ्जको सुरक्षालाई आकलन गरी सुरक्षा व्यवस्था कडाइ गरिएको हो ।  निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्ज क्षेत्र भित्रका ३२  वटा सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याइएको छ । उनले भने, “चाडपर्वको समयमा हुन सक्ने सम्भावित चोरीसिकारीलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ ।” चाडपर्व लक्षित सुरक्षाका लागि हात्ती, पैदल, छोटो तथा लामो दुरीको गस्ती गरिने छ ।

निकुञ्ज भित्रका ५७ वटा पोष्टहरुलाई सक्रिय बनाइएको उहाँले जानकारी दिए। उनले भने, “चेकपोष्ट र निकुञ्ज क्षेत्रमा बसोबास गर्ने सबैलाई चनाखो रहन आग्रह गरिएको छ ।” वन्यजन्तु संरक्षणका लागि बनाईएका समुदाय स्तरका क्लबहरुलाई सचेतना जगाइएको उनले जानकारी दिए।

९५२.६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा हरेक वर्ष चाडपर्वको समयमा तस्करहरु आउने गरेकाले यस वर्ष उच्च सतर्कता बढाइएको उनले बताए।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार  ११ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।