काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दुई महिना (साउन–भदौ) मा नेपालले तीन खर्ब पाँच अर्ब १५ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।
यो गत आवको दुई महिनाको तुलनामा १६.२३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालले दुई खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो ।
भदौमा मात्रै आयातको तथ्याङ्क अझ बढी छ । यस वर्ष भदौमा एक खर्ब ६२ अर्ब ११ करोड रुपैयाँको वस्तु आयात भएको देखिन्छ । जबकि गत वर्ष भदौमा एक खर्ब ३४ अर्ब १६ करोड रुपियाँ बराबरको वस्तु आयात भएको थियो ।
यस्तै, गत वर्षको दुई महिनाको तुलनामा वस्तु निर्यात ८८.५७ प्रतिशतले बढेर ४७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । गत वर्ष भदौसम्म नेपालबाट २५ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
इन्धन आयातमा दुई महिनामा ४५ अर्ब ३९ करोड रुपैयाँ विदेशिएको छ ।
बढी आयात हुने वस्तु समूहमा वनस्पति तेल दोस्रो स्थानमा छ । आइरन र स्टिल आयातमा २२ अर्ब ९७ करोड रुपैयाँ बराबर विदेशिएको छ । इलेक्ट्रिकल मेसिन र त्यसका पार्टपुर्जा आयातमा २२ अर्ब १६ करोड विदेशिएको विभागको तथ्यांक छ ।
दुई महिनामा १७ अर्ब २२ करोड रुपैयाँ बराबरका सवारीसाधन आयात भएको तथ्यांक छ । यो अवधिमा औषधीजन्य सामग्री ७ अर्ब १० करोडको आयात भएको छ ।










प्रतिक्रिया