७० मेगावाटको दुधकोशी २ का लागि लक्ष्मी सनराईजको अगुवाईमा साढे १० अर्ब लगानी सम्झौता


काठमाण्डौं । लक्ष्मी सनराईज बैंकको अगुवाईमा ७० मेगावाटको दुधकोशी २ (जलेश्वर) जलविद्युत आयोजनामा साढे १० अर्ब लगानी सम्झौता भएको छ । लक्ष्मी सनराइजसँगै अन्य सहवित्तीयकरणमा सहभागी बैंकहरु र दुधकोशी हाइड्रोपावरका बीच बुधबार लगानी सम्झौता भएको हो ।

कम्पनीले सोलुखुम्बु जिल्लामा अवस्थित दुधकोशी नदीमा निर्माण गर्ने ७० मेगावाट क्षमताको अर्धजलासययुक्त दुधकोशी २ (जलेश्वर) जलविद्युत आयोजना निर्माण गर्दैछ । १५ अर्ब रुपैयाँको सो आयोजनामा लक्ष्मी सनराइजले अगुवा भूमिका निर्वाह गरेको छ भने सह अगुवामा एभरेष्ट बैंक र सानिमा बैंक रहेका छन् ।

लक्ष्मी सनराईज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी ३० प्रतिशत रकम सो कम्पनीका संस्थापकबाट लगानी हुने बताइएको छ । बैंकहरुसँगको लगानी सम्बन्धि सहकार्यले नेपालको नविकरणीय उर्जा परिदृश्यमा महत्वपुर्ण भूमिका खेल्ने बताइएको छ ।

दुधकोशी २ (जलेश्वर) जलविद्युत आयोजनाले २०७७ असोजमा विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति पाएको थियो । आयोजनाले २०७८ मंसिरमा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता गरेको थियो ।
जुलाई २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब ४१७ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै देशकै ठुलो स्वतन्त्र उर्जा उत्पादकको मध्यको रुपमा रहने आयोजनाको भनाई छ ।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार  १७ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।