अलैँचीको निर्यात ४४ प्रतिशतले बढ्यो


काठमाडौँ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३ दशमलव ९० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा ८५ करोड ९६ लाख ११ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो ।

गत दुई महिनाको अवधिमा ५२२ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए ।

नुभयो । आव २०८१\८२ को पहिलो दुई महिनाको अवधिमा ५९ करोड ७३ लाख ५२ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको उनले बताए ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको दुई महिनामा चियाको निर्यात ३४ प्रतिशतले घटेको छ । उक्त अवधिमा ७५ करोड तीन लाख ४८ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । सूचना अधिकारी हुमागाईंका अनुसार आव २०८१\८२ को सोही अवधिमा एक अर्ब १३ करोड ७४ लाख आठ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ ।

भन्सार कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा छुर्पी ९८ दशमलव ३० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी १५५ दशमलव २० प्रतिशत, भेनियर सिट ७४ प्रतिशत, मुसुरो दाल ६५५ दशमलव १० प्रतिशतले वृद्धि भएको छ । यसैगरी फलामे पाता ९३ दशमलव ४० प्रतिशत, अदुवा ४१ दशमलव ८० प्रतिशत र अम्रिसो ३० दशमलव १० प्रतिशतले कमी आएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।

मेची भन्सारबाट चालु आवको दुई महिनामा तीन अर्ब छ करोड ३७ लाख ३९ हजार रुपैयाँको मालवस्तु निर्यात भएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार  ०७ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।