पुनर्निर्माणका लागि सरकारले गर्‍यो आर्थिक सहयोगको आह्वान, क्युआरबाटै भुक्तानी गर्न सकिने


काठमाडौं । अर्थ मन्त्रालयले जेनजी आन्दोलनका क्रममा भएको क्षतिपछि भौतिक संरचना पुनर्निर्माणको लागि आर्थिक सहयोग गर्न आह्वान गरेको छ ।

आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गरी पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापना सम्बन्धी कार्यलाई तत्काल व्यवस्थित र प्रभावकारी बनाउन उद्देश्यले मन्त्रिपरिसदले भौतिक पूर्वाधार पुनर्निर्माण कोष नै बनाएर आर्थिक सहयोगका लागि आह्वान गरेको हो ।

मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयअनुसार भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी भएको र सो अनुसार भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

‘नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सह संस्थाबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन नेपाल सरकार सबैमा हार्दिक आह्वान गर्दछ। यस्तो आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन/खर्च कट्टी गर्न पाइने छ,’ अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

योगदान रकम  ‘भौतिक पूर्वाधार पुननिर्माण कोष’ नामको  राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गर्न सकिनेछ ।साथै फोनपेमार्फत क्युआर भुक्तानी गरी समेत आर्थिक सहयोग गर्न सकिने मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार  १५ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।