अमेरिकी सांसद : चीनसँगको व्यापार द्वन्द्व समाधान गर्न अझ धेरै काम आवश्यक


चीन भ्रमणमा रहेका अमेरिकी कंग्रेसको प्रतिनिधिमण्डल प्रमुखले बिहीबार प्रशान्तपारिका दुवै देशका कम्पनीहरूलाई कठिनाइमा पारेको अमेरिका–चीन व्यापार द्वन्द्व समाधानका लागि अझ धेरै काम गर्नुपर्ने बताएका छन् ।

वासिङ्टन राज्यका डेमोक्रेट सांसद एडम स्मिथले पाँच दिने भ्रमणको अन्त्यमा भने, “यद्यपि दुई अर्थतन्त्रबीच ठूलो परिमाणमा व्यापार भइरहेको छ, अझै पनि समस्याहरू समाधान गर्न धेरै काम गर्न बाँकी छ । चीन, अमेरिका र विश्वले केही मतभेदहरू हल गरेर मिलेर काम गर्दा ठूलो लाभ लिन सक्छन् ।”

स्मिथसहित डेमोक्रेट सांसद रो खन्ना र क्रिसी हौलहान तथा रिपब्लिकन सांसद माइकल बाउमगार्टनरले साङ्घाईमा अमेरिकन चेम्बर अफ कमर्ससँगको भेटपछि पत्रकारहरूसँग कुरा गरेका थिए । उनीहरूलाई कार्यालय भवनको लबीमा स्टारबक्समा कफी खाँदै गरेको पनि देखिएको थियो ।

स्मिथले प्रतिनिधिमण्डलको भ्रमणको मुख्य उद्देश्य सरकारबीच सञ्चारका मार्गहरू खोल्नु रहेको बताए । उनले भने, “विश्वका दुई ठूला आणविक शक्तिहरूबीच विशेष गरी मतभेद भएका विषयमा निरन्तर संवाद आवश्यक छ ।”

प्रतिनिधिमण्डलले तीन दिनसम्मको बैठकमा बेइजिङमा प्रधानमन्त्री ली किआङ, विदेशमन्त्री वाङ यी, रक्षामन्त्री डोङ जुनसहितका शीर्ष नेतासँग भेटवार्ता गरेको थियो ।

यो भ्रमण सन् २०१९ पछि अमेरिकी कंग्रेसका सदस्यहरूको पहिलो चीन भ्रमण हो । सन् २०२३ मा अमेरिकी सिनेटको प्रतिनिधिमण्डलले चीनको भ्रमण गरेको थियो ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर अन्त्यमा दक्षिण कोरियामा हुने क्षेत्रीय शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने योजना सुनाउनुभएको छ र आगामी वर्षको सुरुवातमा चीन भ्रमण गर्ने बताउनुभएको छ । तर चिनियाँ पक्षले बैठकको पुष्टि गरेको छैन ।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार  १६ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।