काठमाडौँ । चाडपर्व सुरु भएसँगै आन्तरिक हवाई उडानको भाडा आकासिएको छ ।
एयरलाइन्स कम्पनीहरूले चाडपर्वको समयमा थप उडानहरूको तालिका ल्याए पनि यात्रुहरूको अग्रिम बुकिङ र चापका कारण भाडा बढ्न पुगेको हो ।
यो वर्ष मात्र होइन, विशेषगरी दशैं, तिहार र छठजस्ता चाडपर्वमा रोजगारीका लागि काठमाडौं र ठूला शहरहरूमा रहेका नागरिकहरू आफ्ना घर फर्कने भएकाले असोज महिनामा आन्तरिक उडानमा तीव्र चाप हुने गरेको छ ।
दशैँमा देशभर कम्तिमा ८० लाख मानिसले आवतजावत गर्ने गर्छन् ।
काठमाडौंबाट मात्रै १० देखि १२ लाख मानिस दशैँ मनाउन गाउँघर फर्कने गर्छन् । १० लाख मध्ये कम्तिमा ५ प्रतिशत मानिसले हवाई माध्यम रोज्छन् । जसका कारण हवाइ टिकटको माग बढ्ने भएकोले वर्षैने यहि समयमा भाडा बढ्ने गरेको छ ।
दसैँ सुरु हुनु १५ दिन अगाडिबाटै आन्तरिक उडान तर्फको टिकट बुकिङ हुने गरेको छ ।
कुन रुटमा कति छ भाडा ?
काठमाडौं–धनगढी र काठमाडौं–सुर्खेतको भाडा न्यूनतम १० हजारदेखि अधिकतम १६ हजार रुपैयाँसम्म पुगेको छ ।
काठमाडौं–नेपालगञ्जको न्यूनतम भाडा ७ हजार ५००, अधिकतम १३ हजार २६४ रुपैयाँ पुगेको छ ।
यता, काठमाडौं–भद्रपुरको न्यूनतम भाडा ८ हजार ९००, अधिकतम भाडा १२ हजार २५९ रुपैयाँ पुगेको छ ।
यसैगरी काठमाडौं–विराटनगरको न्यूनतम भाडा ६ हजार ५००, अधिकतम ९ हजार ९०३ रुपैयाँ, काठमाडौं–भैरहवाको भाडा ८ हजार रुपैयाँदेखि ९ हजार रुपैयाँ, काठमाडौं–पोखराको न्यूनतम ४ हजार ४०० छ भने अधिकतम झण्डै ७ हजार रुपैयाँ पुगेको छ ।
यसैगरी, काठमाडौं–जनकपुरको न्यूनतम भाडा ४ हजार ५००, अधिकतम ५ हजार ५३५ रुपैयाँ रहेको छ ।










प्रतिक्रिया