दसैँपछि मुस्ताङ भन्सार सञ्चालनमा


मुस्ताङ । गत भदौ ३१ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको उत्तरी कोरलानाकास्थित न्हेचुङको भन्सार कार्यालय दसैँ पछि आजदेखि सञ्चालनमा आएको छ । गत असोज १३ गते कर्मचारी दसैँ मनाउन घर गएपछि कार्यालय बन्द थियो ।

कार्यालयमा निकासी तथा पैठारीकर्ता मालवस्तु धनीका अख्तियार प्राप्त प्रतिनिधि उपस्थित नहुँदा मालवस्तु जाँचपासलगायतका काम सुरु नभएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिए ।

दसैँमा बिदा हुँदा चीनबाट आयात गरिएका मालवस्तु तथा विद्युतीय कार न्हेचुङ भन्सारमा जाँचपासका लागि रोकिएका छन् । नाकाबाट मालवस्तु आयात गरी मालवाहक र विद्युतीय कारहरु जम्मा भएको सूचना प्राप्त भएको भन्सार प्रमुख खड्काले बताए ।

कोरलानाकाबाट दसैँ अघिसम्म २ अर्ब २ करोड ९६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । त्यस अवधिसम्म कोरलानाकाबाट भित्रिएका एक हजार १०९ वटा विद्युतीय कारमध्ये ९६५ वटा विद्युतीय कारको भन्सार जाँचपास भई गन्तव्यमा पुगिसकेका छन् ।

यसैगरी चिनियाँ मालवस्तु ढुवानी गरिएका ३७५ वटा मालवाहकको भन्सार जाँचपास भएको छ । यसअघि यहाँको मुस्ताङ भन्सार कार्यालय उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै खुल्ला हुँदा थोरै मात्र राजस्व सङ्कलन हुने गरेको थियो । गत साउन, भदौमा रसुवागढी र तातोपानी नाका बाढीपहिरोका कारण अवरुद्ध भएपछि भन्सार विभागले कोरलानाकालाई प्रयोगमा ल्याएको हो ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार  १४ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।