मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन


गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट १५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस वर्ष हिमाल आरोहणका लागि अनुमति लिएका ३७४ जनाबाट ११ लाख २२ हजार अमेरिकी डलर अर्थात् १५ करोड ७६ लाख ४० हजार १९५ रुपैयाँ राजस्व सङ्कलन भएको पर्यटन विभागले जनाएको छ ।

८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस वर्ष ३१ समूहका ३७४ जनाले अनुमति लिएका विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए । उनीहरुमध्ये ९५ महिला र २७९ पुरुष हुन् । ४२ विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीबाट कुल १९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । त्यसमध्ये झन्डै १६ करोड रुपैयाँ मनास्लुबाटै सङ्कलन भएको छ । कुल ८०२ आरोहीमध्य ३७४ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि चार जनाले मात्र अनुमति लिएका थिए । उनीहरुबाट ४२ लाख १२ हजार ३७५ रुपैयाँ राजस्व सङ्कलन भएको छ । ८ हजार मिटरभन्दा अग्लो धौलागिरि आरोहणका लागि १० जनाले, ल्होत्से, मकालु र चोयू आरोहणका लागि दुई–दुई जनाले मात्र अनुमति लिएका विभागले जनाएको छ ।

विश्वको आठौँ, नेपालको सातौँ अग्लो हिमाल भनेर चिनिने मनास्लु चुमनुब्री गाउँपालिका–१ सामागाउँमा अवस्थित छ । यो याममा अरू हिमालभन्दा मनास्लु हिमाल आरोहण गर्नेको सङ्ख्या उल्लेख्य हुन्छ ।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार  १५ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।